
काठमाडौं : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का केही पदाधिकारी र खेल प्रशंसकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे।
उपाधि जित्नजे लक्ष्यसहित ढाका पुगेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग बुधवार ३-० ले पराजित हुँदै बाहिरिएको थियो।
समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले भुटानलाई ४-० र बंगलादेशलाई २-० ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिमा चारमा स्थान बनाएको थियो।
तर खराब मौसम र वर्षाका कारण सेमिफाइनलमा राम्रो खेल्न नसकेपछि फाइनल पुग्ने नेपालको सपना अधुरै बनेको हो।
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सविरुद्ध गल्ती धेरै भएको र प्राकृतिक मैदानमा नेपालले नखेलेको धेरै समय भएकोले पनि हार बेहोर्नुपरेको प्रतिक्रिया दिए। 'माल्दिभ्स विरुद्ध हामी चुक्नुको कारण छन्। हामीले गल्ती पनि धेरै गर्यौँ। अर्को कुरा नेपालले यस्तो न्याचुरल ग्राउण्डमा नखेलेको धेरै भयो। खेलाडीले हिलाम्मे मैदानमा खेल्न सकेनन्।'
यस्तै उनले १० दिनको समयमा टिमको मुख्य प्रशिक्षण सम्हालेर पनि नेपाललाई ५ वर्षपछि सेमिफाइनल पुर्याउनु उपलब्धी भएको बताए।