PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

महमुद आलम हत्यामा उच्च अदालतले पनि प्यासीलाई दोषी ठहर्‍यायो, सजाय निर्धारण हुन बाँकी



राधेश्याम पटेल

महमुद आलम हत्यामा उच्च अदालतले पनि प्यासीलाई दोषी ठहर्‍यायो, सजाय निर्धारण हुन बाँकी

वीरगंज : एमाले नेता तथा मुस्लिम एतेहाद संगठनका केन्द्रीय अध्यक्ष महमुद आलमको हत्यामा एमाले पूर्व सभासद् रामचन्द्र कुशवाहा प्यासी पुन: दोषी ठहर भएका छन्। जनकपुर उच्च अदालतले भदौ २६ गते गरेको फैसलामा उनलाई दोषी ठहर गरेको हो।

जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगंजले ज्यान मुद्दाको महल १३ (४) बमोजिम उनलाई कसुरवार ठहर गर्दै जन्मकैद हुने फैसला सुनाएको उच्च अदालतका सरकारी वकिल ध्रुव ज्ञवालीले बताए। ‘अहिले कसुरवार ठहर गरिएको छ। असोज १९ गते तोकिएको पेशीमा महल अनुसारको सजाय निर्धारण गरिनेछ,’ उनले भने। अस्थायी इजलाश वीरगंजको १ नं. इजलासले यस्तो फैसाला सुनाएको हो।

अस्थायी इजलाश वीरगंजका मुख्य न्यायाधीश डिल्लीराम आचार्य र न्यायधीश चन्द्रबहादुर सारुको संयुक्त इजलासले गरेको फैसलाबमोजिम प्यासीलाई ज्यान मुद्दाको महल १३ (४) बमोजिम कसुर ठहर गरेको हो। पार्टीभित्रको आपसी द्वन्द्वका कारण हत्या गरिएका आलमको तर्फबाट सरकारी वकिल ध्रुव ज्ञवाली, अधिवक्ताहरु एकराज बास्तोला, सन्तोष श्रीवास्तव, गणेश दाहाल, सुधीर कर्णलगायतले बहस गरेका थिए भने प्यासीका तर्फबाट अधिवक्ताहरु देवेन्द्रलाल सिंह, रामचन्द्र सिंह,वीरेन्द्रप्रसाद यादव, मनमोहन तिमल्सिना लगायतले बहस गरेका थिए। 

यसअघि सो हत्या मुद्दामा बारा जिल्ला अदालतले २०७३ वैसाख १५ गते फैसला सुनाएको थियो। जसमा ज्यान मुद्दाको १६ (४) बमोजिम प्यासी, घटनामा संलग्न भारतीय नागरिकहरु राजु श्रीवास्तव, अतीक खानलाई १० वर्ष कैद सुनाएको थियो भने सुटर चढेको मोटरसाइकल चालक मनोज भनिने रवि पाण्डेलाई १३ (४) दफा अनुसार जन्मकैदको फैसला सुनाएको थियो। जिल्ला अदालतको फैसलाको विरुद्धमा महमुद आलमकी पत्नी पूर्व सभासद नजमा आलमले उच्च अदालत जनकपुरमा २०७३ कार्तिक ५ गते रिट दायर गरेका थिइन्। मुलुकी ऐनको ज्यान सम्बन्धि मुद्दाको महल अनुसार कसुरवार ठहर र सजय निर्धारण एउटै पेशीमा हुन्थ्यो भने हाल भदौ १ देखि लागू भएको  अपराध संहिता मुलुकी फौजदारी कार्यविधि कसूर–सजाय निर्धारण २०७४ अनुसार कसुर ठहर गरेको अर्को पेशीमा सजय निर्धारण गरिने व्यवस्था बमोजिम प्यासीलाई कति वर्षको सजय हुन्छ भन्ने अर्को पेशीमा हुने कानुन व्यवसायीहरुको भनाइ छ।

बारा, लिपनीमालका आलमले २०७० सालमा चुनावको टिकट पाउने लगभग पक्का भएपछि भारतीय सुटर लगाएर पार्टीगत रिसइबीका कारण एमालेबाट २०६४ सालमा समानुपातिक सभासद रहेका प्यासी हत्याको योजना बनाएका थिए।

परवानीपुरबाट पार्टीको कार्यक्रममा वीरगंज गइरहेको अवस्थामा उनी माथि चैनपुर नजिक बाटोमा गोली प्रहार गरी हत्या गरिएको थियो। मोटरसाइकलमा आएका अभियुक्तहरु आलमको छातीमा गोली प्रहार गरी फरार भएका थिए। २०७० साल असोज १८ गते गोली प्रहार गरी असोज २४ गते शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।

त्यसपछि उनकी पत्नी नजमा आलमलाई टिकेट दिइएको थियो। नजमाले भारी मतले चुनाव जितेकी थिइन्। आलम हत्याकाण्डको मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो–सिआईबीले अनुसन्धान गरेर प्रतिवेदन बुझाएपछि प्यासी र अन्य संलग्नहरु पक्राउ परेका थिए। प्यासी अहिले केन्द्रीय कारागार काठमाडौंमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell