PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

पार्टीको नेतृत्व चयनका लागि कर्णालीका मन्त्रीदेखि सांसद महिना दिनदेखि काठमाडौंमा, संसदमा विधेयक अलपत्र



पी बी खड्का

पार्टीको नेतृत्व चयनका लागि कर्णालीका मन्त्रीदेखि सांसद महिना दिनदेखि काठमाडौंमा, संसदमा विधेयक अलपत्र

सुर्खेतः कर्णाली प्रदेशका सांसद र मन्त्रीहरु संघीय राजधानी काठमाडौं लागेपछि प्रदेश सरकार रित्तिएको छ। महिनादिन अघिदेखि प्रदेशका अधिकांश सांसद र केही मन्त्रीहरु काठमाडौँमै छन्। 

झण्डै महिना दिन बित्दा पनि मन्त्री र सांसद प्रदेशमा नफर्किदा संसद बैठक बस्न सकेको छैन। जसले गर्दा प्रदेशसभा बैठकले गर्ने काम सुस्ताएको छ। प्रदेशसभा बैठक महिना दिनदेखि बस्न नसक्दा प्रदेशस्तरमा बनाउनु पर्ने कानुन निर्माणमा ढिलाई भएको छ भने संसदमा दर्ता भएका विधेयक अलपत्र परेका छन्।  
 
नेकपाको नेतृत्व चयनका लागि मन्त्री र सांसद यतिबेला काठमाडौंमा अलमलिएका हुन्। नेतृत्व आफ्नो पोल्टामा पार्न नेकपाका सांसद र मन्त्री काठमाडौंमा शक्तिशाली नेतासँग लबिङ् गर्दैछन्। जिल्लादेखि प्रदेश कमिटिको नेतृत्व आफ्नो पक्षमा पार्न काठमाडौंमा शक्तिशाली नेतासँग भेटघाटमा व्यस्त छन्। 

संसद नचल्दा कानुन निर्माणमा ढिलाई 


प्रदेशमा कानून निर्माणको चटारो भइरहँदा पनि संसद बैठक स्थगित गरिएको छ। संविधान कार्यान्वयनका लागि प्रदेशले २२ वटा कानुन बनाउनुपर्ने छ। यद्यपि प्रदेशले छुट्टै योजना भने केही बनाएको देखिदैँन। 

कर्णालीले चालु अधिवेशनमा कर्णाली प्रदेश सभामा दर्ता भएका २० वटा कानुनमध्ये १३ वटा पारित भएका छन्। २ वटा सम्बन्धित समितिमा छलफलका लागि गएका छन् । २ वटा प्रदेशसभामा टेबल हुन बाँकी छन्। 

प्रदेशसभा सचिवालयका अनुसार अन्य ३ वटा विधेयक प्रदेशसभामा दर्ता भएका छन्। कर्णाली प्रदेश सहकारी विधेयक २०७५ लगायत केही विधेयक लगायत दर्ता भएका छन् भने केही विधेयक सम्बन्धित समितिमा छलफलमा रोकिएका छन्। महिना दिन अघिदेखि संसद नचल्दा प्रदेशको कानुन निर्माणमा समेत ढिलाई भएको छ। 

मन्त्री पनि काठमाडौंमै

नेकपाको नेतृत्व चयनले कर्णालीका मन्त्रीहरु समेत काठमाडौंमा अलमलिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र सामाजिक विकास मन्त्री दल रावल समेत काठमाडौंमै छन्। केही दिनअघि कर्णाली विकासको गुरुयोजना बनाउने भन्दै हानिएका मन्त्रीहरु अहिलेसम्म फर्कने छाँट छैन। 

संसदले बिजनेस पाएन

कर्णालीको सरकारले प्रदेशसंसदलाई विजनेस दिन नसकेकाले संसद बैठक अनिश्चित बनेको प्रदेशसभा सचिवालयले जनाएको छ। संसदलाई पर्याप्त विजनेस दिए संसद निरन्तर चल्ने बताईएको छ। काठमाडौंमै रहेका सभामुख शाही भन्छन् ‘अधिकांश सांसदहरु अहिले प्रदेशमा नभएकाले पनि संसद बैठक चल्न नसकेको हो।’ उनले भने, ‘सरकारले पनि पर्याप्त विजनेस दिन नसकेकाले बैठक अनिश्चित जस्तै भएको छ।’ यद्यपी सरकारले विजनेस दिए बैठक सुचारु हुने जिकिर छ। अबको केही दिनमै प्रदेशमा फर्कने र संसद बैठक नियमित हुने उनी बताउँछन्। 

फर्कने छाँटकाँट छैन 

केही समय अघि संघीय राजधानी हानिएका नेकपाका सांसद र मन्त्री छिट्टै फर्कने छाँटकाट देखिएको छैन। नेकपाको एकता प्रक्रियाले प्रदेश सभामुख राजबहादुर शाही समेत काठमाडौंमै अलमलिरहेका छन्। नेकपाको नेतृत्व चयनका लागि मन्त्री र सांसद यतिबेला काठमाडांैमै रहेका छन्। नेतृत्व आफ्नो पोल्टामा पार्न नेकपाका सांसद र मन्त्री काठमाडौंमा शत्तिशाली नेतासँग लबिङ् गरिरहेका छन्। जसले गर्दा गत साउन २५ गते स्थगित भएको प्रदेशसभा बैठक अहिले सम्म बस्न सकेको छैन्। 

नेकपाका सांसद र मन्त्रीहरु काठमाडौं हानिएपछि प्रतिपक्ष दलका सांसदहरु यतिबेला गृहजिल्लातिर लागेका छन् भने केही काठमाडौंमै छन्। अघि पछि प्रदेशको राजधानी बस्ने सांसद अहिले यदाकदा एक दुई जना सांसद पाउनसमेत हम्मेहम्मे हुने गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell