
काठमाडौँ : आगामी कात्तिकमा पोखरामा हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको ब्रोडकास्टर पार्टनरको रुपमा हिमालय टिभीसँग सम्झौता गरेको छ।
सम्झौतापछि पीपीएलको आधिकारीक ब्रोडकास्टरको रुपमा हिमालय टिभी रहनेछ। पीपीएलको आयोजक क्वीन्स इभेन्ट्स र हिमालय टिभीबीच शुक्रवार तीन वर्षको लागि सम्झौता भएको हो। सम्झौतामा आयोजक क्वीन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरे।
सम्झौता अनुसार हिमालय टेलिभिजनले ३ वर्ष प्रशारण गरेबापत नगद र अन्य गरी ३ करोड ७० लाख रुपैयाँ आयोजकलाई प्रदान गर्नेछ।
ब्रोडकास्ट राइट वापत हिमालय टिभीले टेलिभिजनसहित सम्पूर्ण डिजिटल अधिकार प्राप्त गरेको छ।
पर्यटकीय नगरी तथा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने पीपीएलमा छ फ्रेन्चाइज टिमको सहभागिता रहने आयोजकले यसअघि नै पक्का गरिसकेको छ। तर अहिलेसम्म टिमको नाम र पुरस्कार रकम भने सार्वजनिक गरिसकेको छैन।
प्रतियोगितामा सहभागी प्रत्येक टिमले विदेशी खेलाडीका साथै स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ।