काठमाडौं : ३३ किलो सुन प्रकरणमा थुनामा रहेका निलम्बित एसएसपी दिवेश लोहनीलाई साधारण तारिखमा छोड्न अदालतले आदेश दिएको छ। शुक्रबार उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको निर्णय उल्ट्याउँदै एसएसपी लोहनीलाई छोड्न आदेश दिएको हो।
३३ किलो सुन प्रकरणमा एसएसपी लोहनीलाई गत वैशाख १९ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पक्राउ गरेको थियो। महानगरीय अपराध महाशाखामा प्रमुखको रुपमा रहँदा कार्यक्षेत्र मिचेर काम गरेका लोहनीलाई मोरङ जिल्ला अदालतको आदेश अनुसार थुनामा राखिएको थियो।
गत असारमा एसएसपीमा बढुवा भएका २५ जनामध्ये ७७ दशमलव ९३ प्राप्त अङ्कसहित २१ औं नम्बरमा लोहनी बढुवा भएका थिए। त्यस लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत लोहनीलाई महानगरीय अपराध महाशाखाको जिम्मेवारी दिइएको थियो।
महाशाखाको जिम्मेवारी पाए लगत्तै एसएसपी लोहनीको टिमले ८८ केजी सुन बरामद गरेको थियो।