PahiloPost

Feb 2, 2026 | २० माघ २०८२

राजा समेत जान डराउने बुङमतीको 'अन्तिम कुमारी' कृपा : संस्कृति र संघर्षको चेपुवामा बज्राचार्य परिवार

राजा समेत जान डराउने बुङमतीको 'अन्तिम कुमारी' कृपा : संस्कृति र संघर्षको चेपुवामा बज्राचार्य परिवार

सागर बुढाथोकी/पहिलोपोस्ट


झट्ट हेर्दा लाग्छ, भर्खरै प्रलय गएको छ। ठूलै प्रकोपको क्षतिले बस्तीबाट मानिसहरु बसाइ सरेका छन्। उजाड, उदास देखिन्छ यो ठाउँ। चहल पहल पनि उतिसारो देखिन्न। राजधानी नजिकै भए पनि आधुनिकताले छोएको छैन। सामान्य छ ठाउँ। छिमेकका गाउँमाजस्तो चमकधमक पनि छैन। २०७२ वैसाख १२ को भूकम्पबाट अलिकति पनि तंग्रिन सकेको छैन। भत्केका घरहरु ठडिएका छैन।  यो बस्ती हो — ललितपुरको बुङमती।

यो ठाउँसँग धेरैखाले कथा जोडिएका छन्। कुनै बेला अपसकुन हुने भन्दै राजालेसमेत पाइला टेक्थेनन् यहाँ। 'दुई सय बुङमतीलाई नौ सय जेल' भन्ने त उक्ति नै थियो। बुङमती 'हरामी' हुन्छ भन्ने त्रासमा थिए राजाहरु।  

रातो* मछिन्द्रनाथको मन्दिरसमेत रहेको बुङमतीसँग शासकहरु सधैं झस्किरहे। किम्बदन्तीअनुसार मछिन्द्रनाथ र राजाहरुको ग्रह कहिल्यै मिलेन। यहाँ पुग्यो भने राजाहरुको प्राण नै रह्न भन्ने किम्बदन्ती रहेको बताउँछन् पुराना मानिसहरु। सत्य हो या अन्धविश्वास! चुनौति दिने हिम्मत कसैले गरेनन्।

कुनै बेलाको एउटा वेग्लै देश बुङमतीसँग थुप्रै कथा छ। तर, यो एउटामात्र कथा हो जसको केन्द्रमा छिन् कुमारी। यी कुमारी आखिरी पनि हुन सक्छिन्। र, यो गाउँको इतिहासको पानामा मात्र सीमित हुनसक्छ कुमारीको कथा।   

मिति : जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी (२०७५ साल असार १० गते)।
समय :  बिहानको ३ बजे
स्थान : बज्राचार्यको घर

एउटा साँघुरो कोठामा मस्त निद्रामा छिन् उनी। उनी अर्थात् बुङमतीको देवी कुमारी। वर्ष साढे २ मात्र। जिवित देवी मानिने मुलुकका ११ कुमारीमध्येकी एक हुन् यिनी। नाम कृपा बज्राचार्य । 

आमा शान्ता यिनलाई ब्युझाँउन लागिपरेकी छिन्। पटक पटक उठाउन खोज्दा पनि उठ्दिनन्। पूरै शहर बिहानीको मीठो निन्द्रामा हुँदा यिनलाई भने नाइनास्ती नगरी उठ्नुपर्ने बाध्यता। मछिन्द्रनाथ मन्दिरमा दर्शन दिन झिसमिसेमै पुग्नुपर्छ आज यिनले। उज्यालो नहुँदै कुमारीको दर्शनका लागि भक्तजनहरु पुग्छन्।

बल्लतल्ल उठ्छिन् कृपा, आँखा मिच्दै। उठ्नासाथ सजाउनेक्रम सुरु हुन्छ। मेकअपको काम अर्ध निन्द्रामै चलिरहन्छ। पटक पटक निन्द्राले यिनलाई ढालिहाल्छ। शान्ता कृपालाई फेरि उठाउँछिन् र सजाउँछिन्। शरीर पूरै रातो लुगाले सजाउनुपर्ने। रातो टिकाले अनुहार पोत्नुपर्ने। गह्रौं गहना पनि लगाउनुपर्ने। 

अर्ध निद्रामा सजिने काम सकिन्छ। करिब दुई घण्टाको सजावटपछि अढाई वर्षकी कृपा जिवित देवी कुमारीको अवतारमा देखिन्छिन्। बुवा मानरत्न बज्राचार्य यिनलाई बोकेर मन्दिर पुग्छन्। उनको दर्शन गर्नेहरु लाइनमा छन्। उनीको पाउमा शिरहरु निहुरिन्छन्। उनी आशिर्वाद दिइरहन्छिन्। कुर्सीमा बसे पनि मुहारमा अनिदोले थकान झल्कन्छ। त्यही बस्दा बस्दै उङ्न पनि थाल्छिन्। हाइ त कति कति। 

बिहान १० बजेसम्म मन्दिरमा जागै बस्छिन् उनी। मानिसहरुमा उनीप्रति आस्था र विश्वास रत्तिभर घटेको छैन। कलिलो उमेर भनेर छुट छैन उनलाई। 

तर, हरेक दिन यस्तै भोगाइ भने हुँदैन। महिनामा दुई तीन पटक यसैगरी सजिएर बिहानै मन्दिर पुग्नुपर्छ। त्यसबाहेक, अरुबेला कुमारीले पालन गर्नुपर्ने नित्य कर्म त अलग्गै छँदैछ।

***

यसको दुई दिनपछि ...
समय : दिनको तीन बजे
स्थान : बज्रचार्यको घर।

बुङमतीको पुरानो नेवार गाउँको बीचमा छ मानरत्न बज्राचार्यको घर। कुमारीका बुवा उनी काठमा पुरानो शैलीका बुट्टा निकालिरहेका छन्। त्यहीँबाट आएको आम्दानीले उनको घरमा चुलो बल्छ।

रेडियोमा नेवारी गीत बजिरहेको छ। काठका पुराना आकृतिको सजावटले घरलाई मल्लकालीन संग्राहलयको झल्को दिएको छ। उनको कौशल चर्चित छ बजारमा। अर्डर पुर्याउन भ्याइ नभ्याइ पनि। विदेशसम्म पुग्छ उनको शिल्पी। एक दर्जनभन्दा बढी युवाहरु त्यही काम गरेर घर चलाउँछन्। तर,  छोरी जिवित देवी कुमारी भएकाले काममा दिने समय कटौती भएको छ।

'सोचेजस्तो सजिलो कहाँ छ र?,' मानरत्न भन्छन्, 'संस्कार जोगाउनुको विकल्प नभएर छोरीलाई 'कुमारी देवी' बनाएको हो। नत्र कसलाई रहर हुन्छ र?'

कुमारी भएकै कारण कृपाले खाने कुरामा निषेध ज्यादा छ। न त बिहानसम्म सुत्न नै पाउँछिन्। उनकै उमेरका साथीहरुले जस्तो रङ्गीचङ्गी लुगा लगाउने स्वतन्त्रता छैन। मनमोजी हुन पूरै निषेध।

चकलेट त उनलाई पनि खुब मन पर्छ। तर, दाँत बिग्रने डरले खान पाउदिनन्। दाँत सकुशल रहेसम्म यिनको कुमारी हैसियत रहन्छ, त्यसपछि रहन्न। अनि कसैको जुठो पनि चल्दैन, देवीलाई जुठो खुवाउने कुरै भएन। परिवारले पनि कुनै 'कम्प्रोमाइज' गर्न पाउँदैन यी विषयमा।

मानरत्न बज्राचार्य छोरीको कथा सुनाइरहेका छन्। हातको औजारले सादा काठ बुट्टाहरुले जिवित झै बन्दैछ। बीचबीचमा कामदारलाई अह्राइपराई पनि भ्याउँछन्।

उनलाई जिवित देवीको बाउ हुनुमा हर्ष रहेनछ। न त कुनै विस्मात नै। संस्कार बचाउने धर्म पूरा गरिरहेका रहेछन्।  'अरु बच्चा जस्तो उसको पनि त बालापन हो। मन हो। इच्छा, चाहना हो। तर, उसले सबै त्याग्नुपर्छ,' बुट्टा बनाउँदै गर्दा टक्क अडिएर मानरत्नले मनको बह पोखे।

त्यसको ४ दिनपछि ...
समय : दिनको दुई बजे
स्थान : बज्रचार्यको घर।

सधैं झै मानरत्न रुखानले काठ खोपिरहेका छन्। बसिलाले रुखान ठोक्दा आएको टक टक टक टक... आवाजले रेडियोमा बजेको गीतमा अपूरो संगीत भरिएझै लाग्छ। 

हामीसँग गफिँदा बेलाबेलामा उनी टक्क अडिन्छन्। अनि हात काठतिरै चलिरहन्छ। अल्मलिन फुर्सद छैन। 
 
बज्राचार्यकी कान्छी छोरी हुन् अहिलेकी कुमारी। ६ महिना भयो उनी कुमारी बनेको। दिदी केन्जलपछि कुमारी बन्ने उनको पालो आयो। केन्जल चार वर्ष कुमारी बनिन्। बज्राचार्यको चिरमुनी खलकबाहेक अरु यहाँ कुमारी बन्न योग्य मानिन्न। कुमारी प्रथा चिरमुनी खलकले थेग्दै आएको छ। 

यो नेवार बस्ती जसरी पुरानै शैलीमा बाँचेको छ, त्यसको ठीक विपरित छ नजिकका गाउँ र शहरहरु। त्यसैले पनि हुनुपर्छ यो परिवारका लागि कुमारी झन्झट बन्दैछ। अबोध छोरीहरुका लागि त कुरै भएन। 

भन्न सकिन्न, कृपा बुङमतीको अन्तिम कुमारी हुन् पनि सक्छिन्। कदम् त्यसो भएन भने पनि केही वर्षपछि बुङमती जिवित देवी कुमारीविहिन हुने निश्चित छ। किनकि कृपापछि कुमारी बन्ने अरु कोही जन्मिएका छैनन्। 

मानरत्न वर्तमानसँग दिग्दार छन्, भविष्यसँग त्रसित। एकातिर छोरीलाई कुमारी बनाएर 'बोझ' बोकिरहेको सुनाउँछन्। अर्कातिर कुमारी बन्ने कोही नजन्मिँदा 'अनिष्ट' हुने भय पनि छ उनमा। अनौठो 'धर्मसंकट'बाट गुज्रिरहेका छन् उनी। 

बुङमतीमा काठमाडौंमा जस्तो 'कुमारी घर' छैन। आफ्नै घरमा छुट्टै कोठा  बनाएर बस्नुपर्छ। कुमारीका लागि वेग्लै गुठी छैन खर्चको जोह गर्न। परिवारले सबै खर्च बेहोर्नुपर्छ कुमारीको। रातो कपडा, पहिरनको सामान र महँगा गहना पनि आफ्नै जोहोमा। जिवित देवीको अभिभावका नाताले पूरै बस्तीमा बेलाबेलामा गर्नुपर्ने भोजको भार पनि बोकेका छन्। वर्षमा तीन पटक खुवाउनुपर्ने ठूलो भोजलाई निरन्तरता दिनुपर्ने परम्परा छ। सामान्य चाँडपर्वका भोज त अनगिन्ती।

सामान्य देखिए पनि खर्च धेरै लाग्छ। 'संस्कार बचाउनकै लागि समय मात्र होइन्, पैसा नि सकिन्छ। आउने कतैबाट होइन,' उनले सुनाए।

फेरि अर्को दिन..
समय : दिउँसो एक बजे

रत्नमुनी बज्राचार्य। कुमारीका हुजुरबा (बाज्य)। उमेर ६८ वर्ष।

रत्नमुनी पनि काम गर्ने ठाउँमै छन्। उनले गरिरहेको पेशा मानरत्नले थेगिरहेका छन्। तर, अहिले पनि उनी काम गर्ने ठाउँमै भेटिन्छन् रत्नमुनी। कामदारलाई काम सिकाउनु नै उनको काम। शिल्पीको पुस्तान्तर यसैगरी भइरहेको छ।

यो उमेरमा आइपुग्दा बुङमतीमा ५० जना भन्दा बढी कुमारी देखिसके उनले। बुङमतीमा कुमारीको २५ सय भन्दा लामो इतिहास रहेको बताउँछन् उनी। समयले कोल्टे फेरेको जस्तै लाग्छ उनलाई। 

जिवित देवी पुज्दा अनिष्ट रोकिने विश्वास छ। कुमारीप्रति श्रद्धा उत्तिकै छ। तर, बज्राचार्य साँच्चिकै रमाउन सकेका छैनन्। उनलाई काठमाडौं बाहेक अन्य ठाउँका कुमारीको अभिभावकहरुलाई, 'संस्कार जोगाउनुपर्ने जिम्मेवारीको बोझले थिचेको छ कि छैन?'  भनेर सोध्न मन छ।

नमीठो पारामा उत्तर आफैँ दिए, ' सबैको कथा व्यथा उस्तै होलान्। काठमाडौँ बाहेक अन्य ठाउँमा पनि कुमारी छ भन्ने कसलाई नै पो थाहा छ र?'

आम्दानी र 'एक्सपोजर' हुने भएकाले काठमाडौंमा आफ्नो सन्तानलाई कुमारी बनाउन हानाथाप हुन्छ। तर, त्यसको उल्टो छ बुङमतीमा। बुङमतीका बज्राचार्यहरु आफ्नो सन्तानलाई कुमारी बनाउन नपरोस् भन्ठान्छन्। तर क्रान्तिकारी बनेर संस्कार त्याग्ने हिम्मत जुटाउन सकेका छैनन्। राजा त यहाँ पुग्न डराए, यी त विचरा त्याग्ने हिम्मत गरुन कसरी?

पुर्खौदेखि चलिआएको संस्कार एउटै परिवारले जोगाइरहेको छ। त्यसैले जेनतेनले चलिरहेको छ कुमारी प्रथा। तर, अहिलेको जस्तो समस्या यसअघि जीवनकालमै भोगेका थिएनन्। कसैले सोचेका थिएनन्, कुमारी बन्ने छोरी नै नहोला भनेर।

बुङमतीमा बज्राचार्य खलकको जम्मा १४ घरमात्र छ। तीमध्ये केही घरधुरी कुमारीका लागि अयोग्य भइसके अन्तरजातीय बिहेवारीले। अन्तरजातीय बिहेबाट जन्मेका छोरी कुमारीका लागि अयोग्य हुन्छन्। कृपाको दूधे दाँत नझर्दासम्म मात्र कुमारी हुन्छिन्। उनमा खत लाग्नेगरी कुनै दुर्घटना हुनुहुन्न। त्यसैले, बज्राचार्य खलकको चिन्ताको पारो बढ्दै गएको छ।
 
कुमारी बनाउनकै लागि कसैले बिहे गरेर बच्चा जन्माउन तयार छैन। घरमा कुमारी भएपछि पूरै परिवार कुमारीको स्याहारमा लाग्नुपर्छ। खर्च त बढ्छ नै नियमित काम पनि अवरोध हुन्छ। 'आजकाल आफ्ना छोरीलाई कुमारी बनाउन कोही चाहँदैन,' बज्राचार्यले भने, ' देख्दा पो सजिलो छ त। भोग्नेलाई थाहा हुन्छ।'

***
अर्को दिन ........
समय :  बिहानको ११ बजे
स्थान : बज्रचार्यको घर।

मानरत्न काठमा बुट्टा भरिरहेका छन्। कुमारी देवी ओछ्यानमा मस्त निदाइरहेकी छिन्। आमा शान्ताको हात पनि बुट्टा कुद्नमै सक्रिय छ।
 
शान्तका अनुसार छोरीलाई मन्दिर पुर्याउँदा धेरै कष्ट बेहोर्नपर्छ। तीन बजे उठ्न अभिभावलाई त सास्ती हुन्छ नै। साढे दुई वर्षको बच्चालाई उठाउन झनै गाह्रो। झरी होस या कठ्याग्रिने जाडो, झिसमिसेमै मन्दिरमा कुमारी राखेर कुरिरहनुपर्छ। श्रृगांर गर्नुपर्दाको झन्झटको कथा बेग्लै छ। भन्छिन्, 'ढुंगाको मुर्ति हो र फुत्त उठाएर ढ्याक्क राख्नलाई?'

कुमारी हुँदा पनि स्कुल जान्छिन्, कृपा। काठमाडौंमा जस्तै घरमा पढाउन शिक्षक शिक्षिका यहाँ आउँदैनन्। स्कुल नपठाउँदा छोरी पछि पर्ली भन्ने पीर पनि छ उनमा। काठमाडौँको कुमारीलाई जस्तो सरकारले पढाउँदैन। उनी आफै शुल्क भर्छिन् छोरी पढाउन। आर्थिक अवस्थाले रोजेको स्कुल पढाउने अवस्था छैन। अरुको भविष्यका लागि आशिर्वाद दिने कुमारीको भविष्य आमा शान्ता अन्धकारमा रहेको ठम्याउँछिन्। संस्कार बचाउन परिवारले त्याग गरे पनि राज्यले मूल्याकंन नगरेको उनको गुनासो अस्वभाविक सुनिन्न। 

शान्ता भन्छिन् , 'धर्म संस्कृति एउटा परिवारको काँधमा थोपरेर चल्छ त? '  

शान्ताको दुइवटी छोरी नै कुमारी भए। जेठीको पालो सकेपछि कान्छीले कर्तव्य निभाइरहेकी छिन्। स्कुल त उनी जान्छिन् तर साथीहरुसँग बसेर खाजा खान मिल्दैन। घरबाट लगेको खाजा छुट्दै राखेर खुवाउनुपर्छ। यस्तै झण्झटले कुमारीबाट छिट्टै निकालौं जस्तो लाग्छ शान्तालाई। बेलाबेलामा बिरामी पनि हुन्छिन्, कृपा।  भन्छिन्, 'धेरै चिसो लाग्छ। बिरामी भएको बेला पनि झिसमिसेमै बाध्य भएर मन्दिर लानुपर्छ।'

***

मानरत्न आजित भइसके संस्कारदेखि। कहिलेकाहीँ सोच बदलिन्छ उनको। विद्रोही लाग्छन् त्यतिखेर। अभाव र दबाब बढाउने संस्कारको अन्त्य गरौँ ठान्छन्। मन र मष्तिष्कभित्र द्वन्द्व हुन्छ। अन्तत: अन्य मानिसले जस्तै 'संस्कार त संस्कार नै हो' भन्ने निचोडमा पुग्ने सुनाउँछन्। 

बेलाबेलमा बिद्रोही बन्न मन लाग्छ उनलाई। काठमाडौंको कुमारीका बाबुले त्यस्तै विद्रोह गरेकाले नै सुविधा पाएको उनलाई थाहा छ।

केही वर्षअघिको कुरा हो। मिति त ठ्याकै याद छैन उनलाई। काठमाडौँमा ईन्द्रजात्राको दिन कुमारीलाई बाहिर निकालिएन। कुमारी हेर्न बसेकाहरु अत्तालिए। कुमारीलाई 'केही व्यवस्था' नभए कुमारी बाहिर ननिकाल्ने दृढ संकल्प  थियो कुमारीको बुबाको। अन्तत:  उनको त्यो शर्त पूरा गरियो।  त्यही घटनाबाट कुमारीलाई सेवा सुविधा दिनुपर्ने व्यवस्था भयो। बज्रचार्य भन्छन्, 'रिस्क नलिइकन केही नहुनै रै'छ यहाँ।'

विद्रोही बन्न यही घटना काफी छ उनलाई। त्यसैले अधिकांश समय उनको मनले भनिरहन्छ, 'रिस्क लि पासा 'रिस्क'।

यो पनि पढ्नुहोस् :

एसिडले डढाएको संगीताको सपना

सर्कसको सकस : ‘जिन्दगी त त्यसै गइगो’

फेरि ती दिन सम्झन चाहन्न......!

असुरक्षित छन् छोरीहरु

सपना देख्नका लागि त निदाउन पाउन पर्यो नि! एउटा संघर्षको  कथा



फोटोहरु : गगन थापा
*भूलवस सेतो मछिन्द्रनाथ भएकोमा सच्याइएको।
बज्राचार्यको पेशा जुन क्रमश: लोप हुँदै गएको छ।
कृपा र उनकी दिदी जो यसअघि यहाँको कुमारी थिइन्।


ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.697faf27a6c530.11809055): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.697faf27a6c530.11809055,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.697faf27b1da43.67872182): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.697faf27b1da43.67872182,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.697faf27b80532.47983840): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.697faf27b80532.47983840,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293