काठमाडौं : देशकै सुरक्षित स्थान सिंहदरबारबाट करिब २ किलोमिटरको दुरीमा रहेको घरभित्र एउटा घटना घट्छ। सुतिरहेकै अवस्थामा एक वृद्धको हत्या हुनपुग्छ। हत्या हुने व्यक्ति सर्वसाधारण थिएनन्। थिए, पूर्वराजदुत केशव झा।
घटना भएको एक महिना वितिसक्दा पनि हत्यारा त परको कुरा, घटनाको कारण समेत प्रहरीले पत्ता लगाउन सकेको छैन। राजधानीमा भएको घटना भए पनि यस विषयले कतै कही आन्दोलित बनाएको छैन, औपचारिक प्रश्न र उत्तरबाहेक। शुक्रवार व्यवस्थापिका संसद्मा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले रेडिमेड जवाफ दिए - 'घटनाको अनुसन्धान हुँदै छ।'
झाको शरीरमा आफ्नै भान्छामा प्रयोग गर्ने धारिलो चक्कु प्रहार भएको थियो। भान्छाकै चक्कु प्रहार गरिनुले हत्यारालाई घटनाको जानकार भएको हुनसक्ने प्रहरीको अनुमान थियो। घटनामा खटिएका एक प्रहरी अधिकृत भन्छन्, 'भान्छाको चक्कु प्रयोगले घरभित्रको जानकार व्यक्ति हुनुपर्ने वा प्रहरीलाई गुमराहमा राख्न यसो गरिएको हुन पनि सक्छ।'
पूर्व राजदूत हत्याको घटना अनुसन्धान गर्ने जिम्मेवारी महानगरीय अपराध अनुसन्धान महाशाखाले गरिरहेको छ। तर, पनि घटनाको निचोडमा भने पुग्न सकेको छैन। महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंह अनुसन्धान भइरहेको तर निष्कर्णमा नपुगेको बताउँछन्।
एसएसपी सिंहले भने, 'हामी विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौँ। तर अहिले नै कसले घटना गर्यो भन्ने खुलिसकेको छैन। सायद चाँडै पत्ता लाग्छ।'
तीन कामदार निर्दोष!
झाको हत्या हुँदा घरमा ८० वर्षीय राजदूत र उनकी श्रीमती बस्थे। घरमा एक जना गार्ड, खाना पकाउने र माली समेत सँगै थिए। घटना भएको दिन घरका ढोका र झ्याल बन्द भएकाले प्रहरीले घटना घरभित्र नै भएको हुनसक्ने अनुमान गरिरहेको थियो।घर भित्रकै घटना हुन सक्ने भन्दै प्रहरीले घरमा काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएको थियो। २० दिनभन्दा बढी अनुसन्धान पछि प्रहरीले उनीहरूलाई छोडेको छ। प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जनही ८ हजार रुपैयाँ धरौटी बुझाएर उनीहरू छुटेका हुन्। कुनै संलग्नता नदेखिएपछि उनीहरूलाई छोडेको एसएसपी धिरजप्रताप सिंहले बताए। 'हामीले विभिन्न तरिकाबाट उनीहरूसँग अनुसन्धान गरेका थियौँ। तत्काललाई कुनै पनि संलग्नता भएको देखिएन त्यसैले धरौटीमा रिहा भएका हुन्,' उनले भने।
नियन्त्रणमा लिएका तीन जनाको 'पोलिग्राफ टेस्ट' समेत गरिएको थियो। पोलिग्राफ टेस्टपछि पनि कुनै निष्कर्षमा प्रहरी पुग्छ सकेन। घटना किन, कसरी, कसले, के-को लागि गर्यो भन्ने खुल्न सकेको छैन।