PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

दुई तिहाईको सरकारसामु न्याय माग्न सडकमा आउनु दुर्भाग्यपूर्ण : कमल थापा



पहिलोपोस्ट

दुई तिहाईको सरकारसामु न्याय माग्न सडकमा आउनु दुर्भाग्यपूर्ण : कमल थापा

धुलिखेल : राप्रपा अध्यक्ष कमल थापाले दुई तिहाइको सरकार भएको बेला न्यायका लागि जनता सडकमा चिच्याउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

आज पार्टीको धुलिखेलमा भएको काभ्रे जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा अपराधीलाई लुकाउने र ढाकछोप गर्ने काममा राज्य संयन्त्र प्रयोग हुनु निर्लज्जताको पराकाष्ठा भएको बताउदै सरकार सुरक्षाको प्रत्याभूति दिन असफल भएको बताए।

अध्यक्ष कमल थापाले दुई तिहाइको सरकार हुँदा पनि देश असफलता तर्फ उन्मुख हुनु दु:खद भन्दै हालको असफलता व्यक्तिको नभइ गलत नीति, गलत मार्गचित्र र गलत व्यवस्थाको असफलता रहेको बताए। गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भइसकेको दाबीसमेत गरे थापाले।  अध्यक्ष थापाले देश कठिन मोडमा पुगेको बताउँदै यही बाटो र विचारबाट अझै कठिन ठाउँमा पुगिने बताए। 

अगुवा कार्यकर्ता भेलामा नेताहरू प्रदेश-३ का अध्यक्ष विक्रम बहादुर थापा, आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, उदय सिंह मुस्याजु, महिला नेतृ यवती कार्की लगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell