PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

किताब विमोचनमा किन राजनीतिक कुरा गर्न रोके चिरञ्जीवी वाग्लेले?



नेत्र तामाङ

किताब विमोचनमा किन राजनीतिक कुरा गर्न रोके चिरञ्जीवी वाग्लेले?

काठमाडौं: शनिवार नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्लेका दुई कृति विमोचन भयो। 

काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्व उपसभापति प्रकाशमान सिंह र गोपालमान श्रेष्ठलगायत नेताहरूले संयुक्त रूपमा विमोचन गरे।

आफ्नो कृति विमोचनपछि काँग्रेस नेतासमेत रहेका वाग्लेले कांग्रेस हार्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको सुझाव दिए। आफ्नो जेलजीवनको स्मरण गर्दै वाग्लेले भने, कांग्रेसको ग्राउन्ड छ, आधार छ। त्यसैले अहिले कांग्रेस हार्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन।' 

यसका लागि नेताहरु रुपान्तरित हुनुपर्ने उनको भनाई थियो। वाग्लेले थपे, 'कांग्रेसको आधार छ भन्दैमा चुप लागेर बस्न भएन। नेता र जनतावीच सम्वाद हुनुपर्‍यो। नेताले बोलेको कुरा जनताले सुन्नुपर्‍यो। जनताको पक्षमा बोलेको छ कि छैन कांग्रेसले? त्यो हेर्नुपर्‍यो। जनताको हितमा काम गर्नुपर्यो पार्टीले।'

कार्यक्रममा उनले पार्टीको इतिहास मेचीदेखि महाकालीसम्म आउने दिनमा कांग्रेस रुपमान्तरण गर्न सकेन भने सत्तपक्ष र प्रतिपक्षी केही फरक नहुने धारणा राखे।

कार्यक्रममा आमन्त्रित सम्पूर्ण वक्तालाई उनले कांग्रेसभित्रको विवादबारे नबोल्न अनुरोधसमेत गरे। भने, 'तीन घन्टा भएपनि सरस्वतीको आरधना गरौ। वक्ता साथीहरुले पार्टीभित्रको सहमति र असहमतिका कुरा होलान। आज कमसेकम हामी सबैले सरस्वतीको आरधना गरौ। हामीलाई पनि प्रेरणा हुन्छ। आज साहित्यिक कुरा गरौ। राजनीतिक सहमतिका र असहमतिका कुरा नराखौं।'

सभापति देउवादेखि केन्द्रीय सदस्यसम्मले दिए शुभकामना

विमोचन कार्यक्रममा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्व सभापति प्रकाशमान सिंह र गोपालमान श्रेष्ठ, महामन्त्री शंशाक कोइराला, पूर्वमहामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्यहरु डा रामशरण महत, डा नारायण खड्का, अर्जुननरसिंह केसीलगायतले पूर्वमन्त्रीसमेत रहेका वाग्लेलाई साहित्यिक क्षेत्रमा चम्किरहन शुभकामना दिए।

सभापति देउवाले साहित्यको क्षेत्रमा कांग्रेस नेताको यो प्रयास प्रशंसानीय रहेको बताए।

उपसभापति निधिले यो साहित्य क्षेत्रमै हस्तक्षेप भएको दाबी गरे।

केन्द्रीय सदस्य डा नारायण खड्काले वाग्लेलाई राजनीतिमा अन्याय भएको र अन्याय सहेर पनि सहेर साहित्यमार्फत अघि बढेकामा प्रशंसा गरे। 

केन्द्रीय सदस्य केसीले कांग्रेसमा साहित्य कमजोर हुँदै गएको अवस्थामा वाग्लेको प्रयास अतुलनीय रहेको बताए।

त्यस्तै केन्द्रीय सदस्य डा महतले जेलमा बस्दा पनि वाग्लेको कविता सुनेको स्मरण गराए। 

वाग्लेको यी दुई कृतिसहित चार कृति प्रकाशित छन्। यसअघि उनको बन्धनशालामा खीर र बलिदानले बनेको देश शीर्षकका दुई उपन्यास प्रकाशित छन्। आज विमोचन भएको कविता संग्रह उज्यालोतिरको यात्रामा २२ राजनीतिक कविता रहेका छन् भने नेपाली साहित्य : मेरो दृष्टि समालोचना संग्रहमा २६ लेखरचना रहेका छन्। कृति कोसेली प्रकाशनले बजारमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell