PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रधानमन्त्री निवास मै विश्वविद्यालयसभा, छानविनका लागि दुई समिति गठन



पहिलोपोस्ट

प्रधानमन्त्री निवास मै विश्वविद्यालयसभा, छानविनका लागि दुई समिति गठन

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटरमै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।

आज बिहान प्रधानमन्त्री ओलीले सभाको उद्घाटन गर्दै विश्वविद्यालयमा भएका अनियमितता छानविनका लागि दुईवटा समितिसमेत पनि गठन गरेका छन्।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कूलपति ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने धारणासमेत राखे। ओलीले सुदुरपश्चिम विकासमा पछि पर्यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने बताउँदै भने, ‘प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिमका सम्भावना धेरै छन्। यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ, प्राविधिक जनशक्ति आदि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ।’ 

ओलीले शिक्षामा एक वर्षभित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने बताए। प्रधानमन्त्री ओलीले सरकारले हरेक पक्षमा परिणाम हेर्ने बताउँदै भने, ‘म कसैको मुख हैन कामको परिणाम हेर्छु।’

ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुका सम्बन्धमा छानविन गर्नका लागि दुईवटा समिति गठन गरेका छन्।
विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाहरुको छानविन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा अर्को समिति गठन गरेका छन्। 

दुवै समितिले १५ दिनभित्र प्रतिवेदन विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ। समितिको प्रतिवेदन अध्ययन गरेर विश्वविद्यालयसभाको बैठक पुन आयोजना गर्ने गरी स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell