काठमाडौः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको आरोप लगाएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले प्रारम्भिक अनुसन्धानमै प्रहरीले हेलचेक्रयाँई गरेको थाहा हुँदाहुँदै पनि कारबाही नगर्नु प्रधानमन्त्री र गृहमन्त्री दोषी भएको दाबी गरे। उनले भने,‘अहिलेसम्म घट्नाको दोषी पत्ता लगाउन नसक्नु सत्ता सञ्चालकहरूको विफलता हो । अनुसन्धान गर्ने निकाय नै दोषी हो । त्यो निकायले अनुसन्धान किन राम्रोसँग गरेन?’
नेता कर्णले गृहमन्त्रीले संसद्मा दिएको जवाफ आश्चर्यजनक भएको पनि जिकिर गरे। उनले भने,‘गृहमन्त्रीले संसद्मा दिएको जवाफ चित्तबुझ्दो छैन। उहाँले अहिलेसम्म अनुसन्धान अधिकृतलाई लिखित उजुरी परेको छैन भनेर जवाफ दिनुभयो । अनुसन्धान अधिकृतलाई धम्की दिँदा गृहमन्त्रीलाई धम्की दिनेको बारेमा थाहा हुँदैन भने के को गृह प्रशासन ? के को गृह मन्त्री ? के को सरकार ?’
निर्मलाको बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न वास्तविक दोषीलाई सरकारले चाँडो भन्दा चाँडो सार्वजनिक गरेर कानुनी कारबाही गर्नुपर्ने उनको माग छ । उनले भने,‘न्याय माग्न पनि पीडितले प्रधानमन्त्री र गृहमन्त्रीकहाँ धाउनुपने ? यो कस्तो राज्य हो ?’