
चार दिने चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घुमघाम जारी छ। उनले आज दिउँसो चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरे।
अध्यक्ष प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गर्न पनि भ्याए। उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णयहरु गरेको मानिन्छ।
त्यसपछि सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान साहित्यिक गोष्ठी स्थलको अवलोकन गरे उनले। त्यहाँ उनले येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाइएको घरको अवलोकन गरे।
माओले प्रयोग गरेको कोठा, पुस्तक, टेबुल, पत्रपत्रिका आदिको अध्यक्ष प्रचण्डले अवलोकन गरे। उनले त्यसपछि येनानमा बनेको प्यागोडा शैलीको नौ तले टावरको अवलोकन भ्याए। उक्त स्थानबाट येनानको सानो भ्याली देखिन्छ। त्यसको ठीक माथिल्लो डाँडामा प्यागोडा शैलीको मन्दिर छ। उक्त स्थानबाट चिनियाँ लालसेनाले दुश्मनको निगरानी गर्ने गर्दथ्यो।
सोही स्थानमा जनयुद्धको समयमा माओका लालसेनाले जापानी सेनाका लगभग १ सय जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिई जापानी आक्रमणकारीको बिरुद्धमा तयार पारेको थियो। त्यसैगरी उक्त स्थानमा चाउयनलाइ प्रधानमन्त्री भइसकेपछि गाडीमा आउँदा गाडी फसेपछि जनताले निकालिदिएका थिए। तत्कालै प्रधानमन्त्रीको आदेशमा सरकारले उक्त स्थानमा पुल निर्माण गरेको थियो। त्यस पुललाई आजभोलि मानिसहरु प्रधानमन्त्री पुलको नामले सम्बोधन गर्दछन्।
अवलोकनको क्रममा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनताले चिनियाँ क्रान्तिमा महत्वपूर्ण स्थान राख्न सफल ऐतिहासिक स्थलहरुको संरक्षण गरेर विश्वभरीकै मुक्तिकामी जनताको निम्ति क्रान्तिलाई अध्ययन गर्ने महत्वपूर्ण सामाग्री प्रदान गर्ने काम गरेको बताए। उनले अवलोकन गरिएका स्थलहरुका बारेमा पुस्तकमा पढेको, तर अहिले प्रत्यक्ष अवलोकन गर्दा खुसी लागेको बताए।
आज बिहान अध्यक्ष प्रचण्ड ग्वान्जाओबाट सान्सी प्रान्तका लागि प्रस्थान गरेका थिए। उक्त शहर विश्वकै ठूलो मोटरसाइकल फ्याक्ट्रीका लागि प्रसिद्ध छ। सो प्रान्तका विदेश विभाग प्रमुखले अध्यक्ष प्रचण्डको स्वागत गरेका थिए। अध्यक्षले मोटरसाइकल, मोटर र सूचना प्रविधि सम्बन्धी उद्योगहरुको अवलोकन गरे। सोही क्रममा अध्यक्षले भने, ‘नेपालमा बलियो कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाईको सरकार बनेको छ। यो बेला नेपालको विकास गर्ने बेला हो। चीन र नेपालका बीचमा चारवटा बन्दरगाह प्रयोग गर्न पाउने ‘ट्रेड एण्ड ट्रान्जिट’ सम्झौता भएको छ । यो नेपाल र चीनका लागि धेरै महत्वपूर्ण छ।’
उनले आफूले नेतृत्व गरेको पार्टीले सञ्चालन गरेको जनयुद्ध कै जगमा गणतन्त्र आएको उल्लेख गर्दै आफूहरुले माओ र चाओबाट धेरै सिकेको बताए।