
काठमाडौँः सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।
बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पुर्याउने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए।
बैठकले मुलुकी अपराध संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दामा नेपाल सरकार वादी हुने गरी संशोधन गरेको छ।
त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए। रासस