PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

क्षेत्रीय रंगशालाको हविगतः ‘ग्राउण्डमा पानी जम्यो, मैदानमा जाने बाटो समेत बन्द’



एम बम

क्षेत्रीय रंगशालाको हविगतः ‘ग्राउण्डमा पानी जम्यो, मैदानमा जाने बाटो समेत बन्द’

धनगढीः २०६८ सालमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलालीको धनगढीमा रहेको क्षेत्रीय रंगशालाको भौतिक पूर्वाधार निर्माण थालियो। तर, प्रतियोगिता सम्पन्न भएको छ वर्ष बितिसक्दा पनि रंगशालाको भौतिक पूर्वाधार निर्माणको कार्य अधुरै छ। पूर्वाधार निर्माणको सट्टा भएको संरचना पनि जीर्ण बन्दै गएको छ। संरचना जीर्ण हुँदा खेलाडी मर्कामा परेका छन्।

जिल्ला खेलकुद विकास समितिले खेल मैदान वरपर घेराबार लगायतमा लगानी गरे पनि ग्राउण्डको व्यवस्थापन गर्न सकेको छैन। उपयुक्त व्यवस्थापन नहुँदा खेलाडीहरूलाई सास्ती भइरहेको जिल्ला फुटबल संघका उपाध्यक्ष अनिल मल्लले बताए। वर्षा सुरु भए यता फुटबलको प्रशिक्षण नै बन्द भएको उनको भनाई छ।

‘बर्सेनि खेल्ने ग्राउण्डको व्यवस्थापन हुनुपर्ने हो। तर अहिले त्यो नहुँदा पानी जमेर खेल्ने वातावरण पनि छैन। विकल्प पनि छैन’ मल्लले भने, ‘खेल्ल्नुपर्ने ग्राउण्ड जुन हो त्यसको व्यवस्थापन र स्तरोन्नतीमा अहिलेसम्म शून्य काम भएको छ। राम्रो काम नभएकाले खेलाडीहरू प्रभावित भएका छन्।’

मल्लले विगत दुई महिनादेखि फुटबलको प्रशिक्षण नै बन्द भएको बताए।

दुई वर्ष पहिले सम्पन्न सफ्ट टेनिस प्रतियोगितामा पनि काम पूरा गर्ने बाचा गरेको निर्माण कम्पनीले काम पूरा गरेन। निर्माणधीन मैदानमा नै खेलाडीहरूले खेले। मैदान जीर्ण हुँदा फुटबलजस्तै टेनिसका खेलहरू पनि प्रभावित भएका छन्।

‘२५ लाखसम्म बजेट आएको थियो। तर निर्माण कम्पनीले काम सकेन। अधुरै मैदानमा खेल खेल्न भन्यो। जेनतेन खेलियो पनि’, लन टेनिसका खेलाडी नीरज थापाले भने ‘अहिले त त्यो मैदानमा जाने बाटो समेत पानी जमेर बन्द भएको छ।’

 

समिति र कम्पनीबीच आरोप–प्रत्यारोप

हालसम्म निर्माणाधीन रंगशालामा प्याराफिट पूर्ण मर्मत हुन सकेको छैन। ग्राउण्डमा पूरै पानी र घाँस छ भने प्याराफिटको ट्रस्टमा समेत प्वाल परिसकेको छ। प्रवेशद्धारमा प्लास्टर समेत नगरी रङ्गरोगन लगाएर पैसा असुल्ने काम भइरहेको लन टेनिस खेलाडी थापाको दाबी छ।

क्षेत्रीय खेलकुद विकास समिति कैलालीका प्रमुख प्रेम मल्ल ठेकेदारले सम्झौता अनुसार काम नगरेको बताउँछन्। मल्ल भन्छन् ‘छोटो समयमै काम सम्पन्न गरेर प्रतियोगिता सम्पन्न गर्ने सम्झौतामा २०६८ सालमा निर्माण थालिएको हो’ उनले भने, ‘तर ठेकेदारको लापरबाहीले काम सम्पन्न हुन सकेन।’

खेल मैदान जीर्ण भएको उनी स्वीकार गर्छन्।

पूर्वाधार निर्माण पूरा नगर्दै पुरानै संरचनामाथि जिल्ला खेलकुद विकास समितिले मर्मत लगायतमा लगानी गरिरहेको छ। निर्माण कम्पनीले काम अलपत्र पारेपछि आफूहरू मर्मतमा लागेको खेलकुद पदाधिकारी बताउँछन्।

छैटौँ राष्ट्रिय खेलकुदमा दिवा निर्माण सेवाले ग्राउण्ड, एथलेटिक्स ट्रयाक र प्याराफिट निर्माणका लागि साढे पाँच करोडमा ठेक्का लिएको थियो। तर अहिलेसम्म निर्माण पूरा नहुँदा परिषद्ले काम स्वीकृत गरेको छैन।

निर्माण कम्पनीले भने सम्झौता अनुसार काम भएको तर, भुक्तानी नपाएको दाबी गरेको छ। 

‘हामीले सम्झौता अनुसारको निर्माण कार्य सम्पन्न गरिसकेका छौँ।’ निर्माण कम्पनीका साइड इञ्चार्ज शेर बहादुर खड्काले भने ‘हामीलाई काम सम्पन्न भएको छैन भनेर लाग्ने गरेको आरोपका लागि तेस्रो पक्षलाई राखेर अनुगमन गराउने सम्झौता भएको छ। सोही अनुसार अगाडि बढ्छौँ र हामी भुक्तानी लिन्छौँ।’

कम्पनीले ६५ लाख भुक्तानी बाँकी रहेको जनाएको छ।

खेलकुद संरचना निर्माणमा लापरबाही भएको तथा गुणस्तरहीन काम भएकाले छानबिन गर्न स्थानीयले आग्रह गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell