PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

संविधान दिवसबारे फोरमभित्र विवाद : एकथरी दिपावली गर्ने मुडमा भने अर्कोथरी ब्ल्याक आउटमा



बीपी साह

संविधान दिवसबारे फोरमभित्र विवाद : एकथरी दिपावली गर्ने मुडमा भने अर्कोथरी ब्ल्याक आउटमा

काठमाडौं : संविधान दिवस मनाउने कि कालो दिवस मनाउने? यो प्रश्नले यतिखेर सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालभित्र चर्को विवाद खडा गरेको छ। मौन रहने पार्टीको निर्णयविरुद्ध उभिएका उपाध्यक्ष रेणु यादवसहितका मधेशी नेताहरुले असोज तीन गते कालो दिवस मनाएरै छाड्ने निर्णय गरेपछि विवाद सतहमा आएको हो। 

पार्टीका उपमहासचिव एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीसहितका गैर मधेशी नेताहरुले संविधान दिवस मनाउने निर्णय गरेका छन्। 
दुवै पक्षले फरक फरक विज्ञप्ति जारी गरेका छन्।

यादवद्वारा जारी विज्ञप्तिमा बन्दुकको बलमा संविधान जारी गरेको र संशोधन गर्ने सहमति भए पनि अहिलेसम्म केही नभएको भन्दै कालो दिवस मनाउने उल्लेख गरिएको छ।

मधेश प्रदेशको कार्यसम्पादन समितिले कालो दिवसका रुपमा मनाउने निर्णय गरेको जनाउँदै विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ।
असोज ३ गते दिनभरि हातमा कालो पट्टी बाँध्ने, सार्वजनिक स्थानमा कालो झण्डा फहराउने, साँझ सात बजेदेखि सवा सात बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने कार्यक्रममा सहभागी हुन यो समूहले सबैलाई आग्रह गरेको छ।

तर, उपमहासचिव अधिकारीद्वारा जारी विज्ञप्तिमा संविधान संशोधनका लागि सरकारले सहमति जनाइसकेकाले कालो दिवस मनाउनुपर्ने आवश्यकता नरहेको जनाइएको छ।

‘संविधान संशोधन गर्न सरकार सहमत भइसकेको वर्तमान अवस्थामा पार्टीले कालो दिवस मनाउने जस्ता कार्यक्रममा सहभागी हुन पार्टीले तत्काल कुनै निर्णय नगरेको हुँदा त्यसखालको कार्यक्रममा सहभागी नहुने र यस सम्बन्धमा अन्य कुनै भ्रममा नरहन समेत सम्पूर्ण ससफो नेपाल आग्रह गर्दछ,’ अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

फोरम नेपालका कार्यकर्ता तथा समर्थकहरुले मधेशमा कालो दिवस मनाउने देखिन्छ भने अन्य स्थानमा सरकारले घोषणा गरे बमोजिमको दिपावली मनाउने देखिन्छ।

यसअघि राष्ट्रिय जनता पार्टीले कालो दिवश मनाउने कार्यक्रम घोषणा गरिसकेको छ। केन्द्रीय सत्ता र प्रदेश २ सरकारको नेतृत्वसमेत गरिरहेको फोरमभित्र देखिएको यो विवादले नैतिक संकट उत्पन्न गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell