
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग ट्रफी टुर पहिलो पटक आयोजना गरेको छ।
'स्कोर अ गोल' नारा दिइएको उक्त ट्रफी टुर सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्यक्रम गरेर सुरु गरियो।
जहाँ एन्फा पदाधिकारी, नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जन लगायत खेलाडी र सेलेब्रेटीको उपस्थित थियो।
झण्डै पाँच वर्षपछि फुटबलको मेरुदण्ड मानिने लिगको पुनरागमन गराउनै लाग्दा एन्फाले पहिलो पटक ट्रफी टुर आयोजना गरेको हो।
तर ट्रफी टुर सुरुवात गरिएको स्थान नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको रगशाला भने अहिले निकै दयनिय अवस्थामा छ। २०७२ सालको भूकम्पले असर गरेको रंगशालाको पूनर्निर्माण निकै सुस्त गतिमा छ। जसले गर्दा नेपालको फुटबल गतिविधी समेत राम्रोसँग सञ्चालन हुन पाएन।
त्रिपूरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको ट्रफी टुर काठमाडौं उपत्यकाको सात स्थानमा भ्रमण गराइने एन्फाले जनाएको छ।
ए डिभिजन लिग जित्ने क्लबले हात पार्ने यस ट्रफी पछिल्लो पटक २०७० सालमा मनाङ मर्स्यादी क्लबले जितेको थियो।
रामजानकी ट्रफीको नामबाट सुरु भएको यस ट्रफीलाई प्रजातन्त्र स्थापनाका बेलामा दिवंगत भएका शहिदहरुको सम्झनामा अहिले सहिद स्मारक ए डिभिजन लिग ट्रफीको नामले चर्चित छ।
२००७ सालमा नेपाल पुलिस फोर्सले लगातार लिग जित्दै ट्रफी पच गरेको थियो।
यस्तै विस २०२८ देखि २०३० सम्म लगातार सहित स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जित्दै आरसिटीले ट्रफी पच गरेको थियो। उक्त ट्रफी क्लबले हाल आफ्नो संग्रहालयमा सुरक्षित रुपमा राखेको छ।