PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

चीनसँग नेपालको सम्बन्धबारे भारतीय सेना प्रमुखको विवादास्पद अभिव्यक्ति



विधुर ढकाल

चीनसँग नेपालको सम्बन्धबारे भारतीय सेना प्रमुखको विवादास्पद अभिव्यक्ति

काठमाडौं : भारतले आयोजना गरेको बिम्स्टेक सदस्य राष्ट्रहरुबीचको संयुक्त सैन्य अभ्यास आइतबार सम्पन्न भयो। सो सैन्य अभ्यासमा नेपालले सहभागिता जनाएन। नेपालले प्रतिवद्धता जनाएर पनि सहभागी नभएपछि भारत चिढिएको छ। यही असन्तुष्टी आइतबार सैन्य अभ्यासको समापन कार्यक्रम भारतीय सेना प्रमुख विपिन रावतले दिएको अभिव्यक्तिमा झल्कियो। उनले विवादित अभिव्यक्ति दिए। 

उनले नेपाल भारतबाट टाढिन नसक्ने भन्दै नेपाल र भुटान जस्ता भारतसँग झुकाव राख्ने देशहरु भारतसँग धेरै समय टाढा बस्न नसक्ने बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

उनको यो भनाई नेपाल र भुटानमा चिनियाँ प्रभाव बढ्दै गएको संकेतप्रति लक्षित थियो। भारतमा आयोजना भएको सैन्य अभ्यासमा अन्तिम समयमा पछि हटेको नेपालले चीनसँग संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेण्डसिप–२’ गर्दै छ। अर्को तर्फ भुटानमा पनि भारत पक्षीय दल आम निर्वाचनमा पराजित भएर संसदबाटै बाहिरिएको छ। 

रावतले चीनसँग सहायतासम्बन्धि सम्झौता गरेको भन्दै त्यस्तो सम्झौता अल्पकालीन भएको पनि टिप्पणी गरको फस्टपोस्टले जनाएको छ। 

उनले नेपाललाई चेतावनी युक्त शैलीमा भनेका छन्, ‘चीनबाट आर्थिक सहयोग लिने देशहरु छिट्टै नै महसुस गर्ने छन् कि केही पनि सित्तैमा आउने छैन।’

उनको भनाई उदृत गर्दै टाइम्स अफ इण्डियाले आर्मी चिफले चिनियाँ सहयोग लिने देशहरुलाई सावधान गराएको जनाएको छ। 

उनले नेपाल चीन सम्बन्ध नजिकिएको सन्दर्भमा बोल्दै भने, ‘कुनै देशले आर्थिक विकासका लागि चीनसँग द्वीपक्षीय तथा बहुपक्षीय सम्बन्ध कायम गर्न चाहन्छ भने यो छिट्टै परिवर्तन हुने छ। चीनले सहयोगको ढोंग देखाइरहेको छ। यो सबै अल्पकालीन हो।’
 
उनले पाकिस्तानमा चिनियाँ सहयोगको उदाहरण दिँदै यस्ता सम्बन्ध सँधै एकनास नरहने दाबी  गरे। 

‘एउटा उत्कृष्ट उदाहरण अमेरिका र पाकिस्तानको सम्बन्ध हुन सक्छ, जुन सँधै एकनास हुँदैन। त्यसैले हामीले यस्ता विषय (नेपाल चीनसँग नजिकियो) मा चिन्ता लिनु पर्दैन्, हामी यस्ता अल्पकालीन एलाइन्सबाट आत्तिनु पर्दैन्,’ उनले भने।

उनले नेपाल र भुटान जस्ता देशहरु भारतसँग नजिक हुनुपर्ने समेत बताए। उनले भौगोलिक अवस्थाले पनि यी देशलाई अन्य देशसँग नजिक हुन नदिने दाबी गरे। 

उनले भारत ठूलो देश भएकोले भारतले नेतृत्व गर्ने र अन्य देश त्यसको पछि लाग्नेसमेत दाबी गरेको इण्डियन एक्सप्रेसले जनाएको छ। 

उनले चीन उदाउँदो अर्थतन्त्रसँगै भारतको प्रतिस्पर्धीसमेत भएको भन्दै चीनले यस क्षेत्रमा बजार खोजिरहेको हुँदा प्रतिस्पर्धा भएको बताए।
भारतमा एक सातासम्म चलेको सैन्य अभ्यासमा नेपालले अन्तिम समयमा हात झिकेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेकको चौथो शिखर सम्मेलन उद्घाटनका क्रममा भारतले संयुक्त सैन्य अभ्यास गर्ने बताएसँगै नेपालमा यसको विरोध भएको थियो। लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई रक्षामन्त्रालय मार्फत निर्देशन पठाउँदै अभ्यासमा सहभागी नहुन निर्देशन दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell