
काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले आगामी बुधवारबाट काठमाडौँमा सुरु हुने एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायरको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ।
सन् २०१९ मा हुने एएफसी यू-१६ च्याम्पियनसिपअन्तर्गत क्वालिफायरको समूह ई का खेलहरु नेपालमा हुन लागेको हो।
प्रतियोगिता खेल्ने सम्पुर्ण टोली नेपाल आइपुगेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।
समुह इ मा घरेलु टोली नेपालसँगै फिलिपिन्स, म्यानमार र मलेसिया रहेका छन्। समूह चरणका सबै खेलहरु एपीएफको मैदान हलचोकमा हुनेछ।
प्रतियोगिताअन्तर्गत पहिलो खेल बुधबार साढे ११ बजे म्यानमार र मलेसियाबीच हुनेछ। बुधवारै नेपालले फिलिपिन्ससँग साढे ३ बजे पहिलो खेल खेल्नेछ।
प्रतियोगिताको लागि एन्फाले रु दुई सयको टिकट व्यवस्था गरेको छ र टिकट इ-सेवा बाट किन्न सकिनेछ। प्रतियोगिताको लागि १ करोड ३५ लाख अनुमानित बजेट रहेको एन्फाले जनाएको छ। यस्तै एएफसीले प्रतियोगिता आयोजना गर्न एन्फालाई १ लाख २० हजार अमेरिकी डलर उपलब्ध गराएको छ।
यस समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। यसैगरी क्वालिफायरमा सहभागी ६ समूहको उपविजेतामध्ये उत्कृष्ट २ टोलीले पनि दोस्रो चरणमा स्थान पक्का गर्नेछन्।
पहिलो चरण पार गरेका ८ टिमलाई दोस्रो चरणको छनोटमा दुई समूह बनाएर प्रतिस्पर्धा गराइनेछ र दुवै समूहको विजेता र उपविजेता अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप खेल्न पाउनेछ। फाइनल चरणमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया भने फाइनल चरणको लागि छनोट भइसकेका छन्।
खेल तालिका: