काठमाडौं : साइक्लिङ खेलको राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमवार हस्तान्तरण गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंग इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको एक वर्षको लागि विमा गरेको थियो। स्व. नारायण पनि एसियाडका लागि छनोट भएका खेलाडी थिए। उनको एसियाडमा सहभागी हुनु पूर्व गत जेठ ३० गते श्रीलंकाको कोदामामा रम्बल इन जंगल–२०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो।
राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनल गौतमले स्व. नारायणकी आमा मैया महर्जन श्रेष्ठलाई विमा वापतको रकम ७ लाख रुपैयाँ बराबरको चेक त्रिपुरेश्वरस्थित राखेपमा हस्तान्तरण गरे।
यसअघि राखेपले एनएलजीसंगै भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी खेलाडी र पदाधिकारीको समेत विमा गरेको थियो।
जेठ ३० गते मृत्यु भएपनि विभिन्न कानुनी प्रकृया पूरा गर्दा असार ७ गते मात्र नारायणको पार्थिव शरीर काठमाडौं ल्याइएको थियो। त्यसै दिन उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केहि घण्टा राखेप हातामा राखि पशुपति आर्याघाटमा अन्त्येष्ठि गरिएको थियो।
३३ वर्षको उमेरमा मृत्युवरण गरेका नारायणले आफ्नो १२ वर्षको खेल करियरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको नेपाल साइक्लिङ संघले जनाएको छ। स्व. नारायण अबिवाहित थिए। स्व. नारायणका आमा, बुवा र दुई दिदी छन्।
सदस्य–सचिव विष्टले खेलाडी नारायणको दुःखद निधन खेलकुदका लागि पीडादायी दिन भएको बताउदै परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरे। उनले थप सहयोगका लागि पनि राखेपले पहल गरिरहेको जानकारी गराए।
विभागीय प्रमुख गौतमले परिवारले व्यहोरेको अपूर्णीय क्षती प्रति दुख व्यक्त गर्दै राखेपको विमा गर्ने परिपाटीको सराहना गरे।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राष्ट्रले खेलाडी र आमाले छोरा गुमाउनु अत्यन्तै पीडादायी क्षण भएको बताउदै खेलाडीको विमा गरिदिएकोमा राखेपलाई धन्यवाद दिए।
साइक्लिङ संघको सहयोग
सोही विमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल साइक्लिङ संघले स्व. नारायणका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।
संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्व। नारायणकी आमा श्रेष्ठलाई १ लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे। अध्यक्ष कक्षपतिले १ लाख साइक्लिङ संघबाट उपलब्ध गराइएको र बाँकी रकम अन्यबाट संकलित भएको जानकारी दिए।