
युरोपको सबैभन्दा ठूलो र प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०१८-१९ को सिजन आज रातीबाट सुरु हुँदैछ। पहिलो दिन समूह चरणका ८ खेल हुँदैछन्।
आज समूह 'ए', 'बी', 'सी' र 'डी' का दुई-दुई खेल हुनेछन्। समूह 'बी' को खेल नेपाली समय अनुसार राती १०:४० मा सुरु हुनेछ भने अन्य समूहको खेल राती १२:४५ मा सुरु हुनेछ।
समूह 'बी' मा रहेको बार्सिलोनाले घरेलु मैदानमा डच क्लब पिएसभी आइन्होभनविरुद्ध समूह चरणको पहिलो खेल खेल्दै च्याम्पियन्स लिगको यात्रा सुरु गर्नेछ।
यसै समूहको अर्को खेलमा इंग्लिस क्लब टोटनहम हट्सपरले इटालियन क्लब इन्टर मिलानसँग इन्टरको मैदानमा खेल्नेछ।
समूह 'ए' अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमण्डले बेल्जियन क्लब, क्लब ब्रुग तथा स्पानिस क्लब एट्लेटिको मड्रिडले फ्रेन्च क्लब मोनाकोसँग प्रतिस्पर्धा गर्नेछन्।
यस्तै समूह 'सी' अन्तर्गत इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा फ्रान्सको पेरीस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्दैछ। यसै समूहमा रहेको इटालियन क्लब नेपोलीले सर्बियन क्लब रेड स्टार बेलग्रेड सँग खेल्नेछ।
त्यसैगरी समूह डी अन्तर्गत टर्किस क्लब गालातासारेले रसियन क्लब लोकमोतिभ मस्कोसँग तथा जर्मन क्लब शाल्केले पोर्चगिज क्लब पोर्टोसँग खेल्नेछ।