काठमाडौँ : बीसीसीआईको आयोजनामा भारतको लखनउमा भइरहेको क्वाड्राङगुलर यू-१९ सिरिजको तेस्रो स्थानको लागि अहिले ेनपाल यू-१९ टिम र अफगानिस्तान यू-१९ टिमबीच खेल भइरहेको छ।
एकान इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई जितका लागि २४५ रनको लक्ष्य दिएको छ।
ओपनर रियाद हशनको शतक मद्दतमा अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको हो। हसनले अन्तिमसम्मा ब्याटिङ गर्दै ११७ रन बनाए। ५० ओभरको खेलमा आधा इनिङ्स एक्लै खेलेका हसनले १२ चौका र २ छक्का प्रहार गरे। यस्तै बसिर खान सिरले ३२ रन जोडे। यी दुईले पाँचौ विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए। यस्तै अरिफ खान दलवतजाईले २४ रन जोडे।
बलिङमा नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले २-२ विकेट लिए। १० ओभर बलिङ गरेका सागरले ३ मेडन राख्दै २८ रन मात्र खर्चिए।
नेपालले लिग चरणको खेलमा अफगानिस्तानलाई २५ रनले पराजित गरेको थियो।