PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कर्णालीको प्रदेशसभा बैठक अन्यौलमा, सभामुख भन्छन् : संसदले गर्ने काम नै केही छैन



पी बी खड्का

कर्णालीको प्रदेशसभा बैठक अन्यौलमा, सभामुख भन्छन् : संसदले गर्ने काम नै केही छैन

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक अन्यौलमा परेको छ। साउन २५ गतेदेखि स्थगित भएको प्रदेशसभा बैठक अहिलेसम्म बस्ने कुनै टुङ्गो छैन। महिना दिन अघिदेखि सांसद र मन्त्रीहरु फुर्सदिला बनेका छन्। अहिले अधिकांश सांसदहरु प्रदेशको राजधानीमा भेटाउन समेत सकिँदैन। कानुन निर्माण गर्ने समयमा अहिले कर्णाली सरकार फुर्सदिलो बनेको छ।
 
प्रदेशसभा सचिवालयमा सरकारले दुई वटा विधेयक दर्ता गराएको छ। यसअघि संसदमा टेबल भइसकेका ५ वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा छन्। तर, यता सभामुख राजबहादुर शाहीले संसद बैठक बस्नुपर्ने कुनै पनि काम नभएकाले स्थगित गरिएको बताए। प्रदेशस्तरका कानुन निर्माणको तिव्रता दिनुपर्ने बेला संसद बैठक स्थगित गरिएको छ।
 
‘संसद बैठक दिन कै बस्ने होइन,’ सभामुख शाहीले भने, ‘संसद बैठकले गर्नुपर्ने केही काम भए तत्कालै संसद बैठक बस्छ।’

अहिले संसद बैठक बस्नुपर्ने कुनै पनि काम नभएकाले स्थगित गरिएको उनको भनाइ थियो।
 
संसद नचल्दा अहिले कर्णालीका सांसदहरु फुर्सिला छन्। प्रदेश राजधानीमा हुने औपचारी कार्यक्रममा व्यस्त देखिन्छन् भने राजधानी बाहिरका सांसद आफ्नो गृह जिल्ला पुगेका छन्। नेकपामा सांसद भने पार्टी नेतृत्वका लागि काठमाडौंमै अल्मलिएका छन्।
 
सचिवालयले दिएको जानकारी अनुसार सचिवालयमा दर्ता भएका प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धि बनेको विधेयक र प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक र सुविधा सम्बन्धि बनेको विधेयक टेबुल हुनबाँकी छ।
 
त्यस्तै, संसदमा सैद्धान्तिक छलफल भइसकेका ५ वटा विधेयक भने दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ। 

मिनी संसद नेतृत्व विहीन

कर्णाली प्रदेशसभाको संसदीय समिति विगत ६ महिनादेखि नेतृत्व विहीन छ। नेकपाको पार्टी एकता क्रमले अहिलेसम्म संसदीय दलको नेता छनौट गर्न सकेको छैन। सत्ता पक्षकै ढिलाइले अहिलेसम्म समितिले काम गर्न नसकेको प्रमुख प्रतिपक्ष दल कांग्रेसको भनाइ छ। तत्कालीन माओवादीकी सांसद सीता नेपालीले समिति नेतृत्वविहीन भन्दा पनि अहिले सभापति हुन नसकेको बताइन्। पार्टी एकताको प्रक्रियाले केही ढिलाइ भएको भन्दै अब छिट्टै पूर्णता पाउने बताइन्।

कर्णाली प्रदेशसभाको गत चैतकोे दशौँ बैठकले विधायन तथा प्रदेश मामिला, अर्थ तथा प्राकृतिक स्रोत, सामाजिक विकास र सार्वजनिक लेखा समिति गठन गरेको थियो । उक्त समितिहरुमा अहिलेसम्म जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell