PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण तयारी, असोज ११ गते राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने



विधुर ढकाल

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण तयारी, असोज ११ गते राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने

काठमाडौं: आजदेखि संयुक्त राष्ट्र संघको ७३ औँ महासभा (युएनजीए–७३)का औपचारिक कार्यक्रमहरु शुरु हुँदै छ। महासभा अन्तर्गत दुई सातासम्म विभिन्न सत्रमा छलफल हुनेछ। 

मंगलवार (१८ सेप्टेम्बर) स्थानीय समयअनुसार विहान साढे १० बजे परिवार नियोजन सम्बन्धी सत्र सुरु हुँदै छ। महासभा अन्तर्गत विभिन्न विषयमा २७५ वटा कार्यक्रमहरु हुने छन्। 

महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने भएका छन्। उनी शनिवार न्युयोर्क जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। यद्यपि मन्त्रालयले आधिकारिक रुपमा प्रधानमन्त्रीको न्युयोर्क भ्रमणको तालिका भने सार्वजनिक गरिएको छैन। 

प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रसंघले जारी गरेको सदस्य राष्ट्रको प्रतिनिधि सम्बोधन तालिकामा असोज ११ गते बिहीवार (सेप्टेम्बर २७) स्थानीय समय अनुसार अपराह्न ३ बजे देखि ९ बजेसम्मको सत्रमा नेपालको तर्फबाट सम्बोधन हुने उल्लेख छ। महासभामा असोज ९ देखि असोज १५ सम्म सदस्य राष्ट्रका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका बनेको छ। जस अन्तर्गत नेपालका तर्फबाट सरकार प्रमुखले सम्बोधन गर्ने सूचीमा उल्लेख छ। 

सम्मेलनमा असोज ९ गते राष्ट्रसंघका महासचिवले स्थानीय समयअनुसार विहान ९ बजे आफ्नो प्रतिवेदन पेश गर्ने छन् भने त्यसपछि महासभाका अध्यक्षले सम्बोधन गर्ने छन्। 
सदस्य राष्ट्रका तर्फबाट सुरुमा ब्राजिलका राष्ट्रप्रमुखले सम्बधोन गर्ने सूची तय भएको छ। त्यसपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्ने छन्। प्रधानमन्त्री ओलीले १०४ वटा देशका राष्ट्र/सरकार/प्रतिनिधि मण्डल प्रमुखहरुले सम्बोधन गरेपछि सम्बोधन गर्ने छन्। 

महासभामा प्रधानमन्त्री ओलीले संबोधनका क्रममा अतिकम विकसित राष्ट्र(एलडीसी) र अतिकम विकसित भूपरिवेष्ठित राष्ट्रको हित, जलवायु परिवर्तन, गरिबी निवारणलगायतका मुद्दालाई प्राथमिकताका साथ उठाउने मन्त्रालय स्रोतले जनाएको छ।

२० सदस्यीय प्रतिनिधि मण्डल

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलमा कम्तीमा २० सदस्य हुने छन्। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको न्युयोर्क भ्रमणको तयारी गरिरहेको छ। 

स्रोतका अनुसार टोलीमा प्रधानमन्त्री ओलीसहित पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरु, प्रधानमन्त्री कार्यालयका अधिकारीहरु तथा प्रधानमन्त्रीका केही सल्लाहकारहरुसमसेत सहभागी हुने छन्। त्यस्तै नेपाली प्रतिनिधि मण्डलमा न्युयोर्कस्थत नेपाली नियोगबाट अधिकारीहरुसमेत सहभागी हुने छन्। 

हाल न्युयोर्कस्थित नेपाली नियोगमा स्थायी प्रतिनिधि (राजदुत) पद भने रिक्त रहेको छ। 

साइडलाइनमा उच्चस्तरीय वार्ता

यसैबीच प्रधानमन्त्री ओलीले युनजिए–७३ को साइडलाइनमा केही उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम बनिरहेको छ। प्रधानमन्त्री ओलीले केही मित्रराष्ट्रका प्रधानमन्त्री÷राष्ट्रपतिसँग द्वीपक्षीय भेटवार्ता गर्ने गरी कार्यक्रमको तयारी भइरहेको स्रोतले जनाएको छ। 

ओलीले साइडलाइनमा कुन–कुन देशका प्रमुखसँग भेट गर्नेछन् भन्ने बारेमा अहिलेसम्म ठोस निर्णय भइसकेको छैन। 

‘साइडलाइनमा भारतीय विदेशमन्त्री सुस्मा स्वराज र चिनियाँ विदेशमन्त्री वाङ यीले भेट गर्न सक्ने बताइएको छ,’ स्रोतले भन्यो ‘यस विषयमा ठोस भइसकेको छैन।’ 
भारतबाट यसपटक विदेशमन्त्री स्वराज र चीनबाट विदेशमन्त्री यीले आफ्नो देशको प्रतिनिधित्व गर्ने छन्। राष्ट्र संघले गत ७ सेप्टेम्वरमा जारी गरेको वक्ताहरुको सूचीमा भारतका तर्फबाट मन्त्रीले सम्बोधन गर्ने उल्लेख छ। 

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता कङ शुआङले सोमबारको नियमित पत्रकार सम्मेलनमा विदेशमन्त्री यीले महासभामा चीनको प्रतिनिधि मण्डलको नेतृत्व गर्ने जनाएका छन्। 

सार्क राष्ट्रबाट बंगलादेशका प्रधानमन्त्री तथा अफगानस्तान र श्रीलंकाबाट राष्ट्रपति सहभागी हने छन्। त्यस्तै भुटानबाट अन्तरिम सरकारका प्रमुख सल्लाहकार सहभागी हुँदै छन्। भारत, पाकिस्तान माल्दिभ्सबाट मन्त्रीले सहभागिता जनाउने छन्। सोही अनुरुप साइडलाइन वार्ताको तयारी भइरहेको छ। 

यता स्रोतका अनुसार साइडलाइनमै सार्कका विदेशमन्त्रीहरुको बैठक बस्न सक्ने सम्भावना रहेको छ। ‘साइडलाइनमै सार्क सदस्य राष्ट्रको विदेशमन्त्रीस्तरीय बैठक बस्ने सम्भावना छ,’ स्रोतले भन्यो, ‘यस विषयमा छलफल भइरहेको छ।’ 

युएनजीए–७२ को साइडलाइनमा समेत सार्कमन्त्रीस्तरीय बैठक बसेको थियो। 

त्यस्तै प्रधानमन्त्री ओलीले न्यूयोर्क रहँदा त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममासमेत सहभागी हुने कार्यक्रम तय भएको छ। 

उत्तर अमेरिकाबाट दक्षिण अमेरिका जाने तयारी

यसैबीच प्रधानमन्त्री ओली न्युयोर्कबाटै दक्षिण अमेरिका जाने तयारी भएको छ। प्रधानमन्त्री ओली उत्तर अमेरिकी राष्ट्र संयुक्त राज्यबाट दक्षिण अमेरिकी राष्ट्र कोस्टारिका प्रस्थान गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले बनाएको छ। 

कोष्टारिकाबाट प्रधानमन्त्रीलाई भ्रमणको निम्तो आएसँगै यस्तो तयारी भइरहेको बताइएको छ। स्रोतका अनुसार कोस्टारिकाका राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा पठाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell