
काठमाडौं : पोस्ट प्रोडक्सनको काम सकिएसँगै फिल्म निर्माण टिमको ध्यान प्रचारमा नै जान्छ। फिल्मको प्रचारमा नयाँ अस्त्र प्रयोग गर्छन्।
गीत वा ट्रेलरबाट प्रचार सुरु गरेसँगै फिल्मको टिम मोफसल यात्रामा जाने गर्छन्। पछिल्लो समय प्रचारका निकै नयाँ अस्त्र प्रयोगमा आए। कन्सर्ट, कभर डान्स/कभर गीत प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता लगायत वाइफाइको पास्वर्डमा फिल्मको नाम राख्नेसम्म। फिल्मको प्रचारमा निकै बजेट पनि खर्चने गर्छन् निर्माता। फण्डाहरु निकाल्ने गर्छन्।
कलेज क्याम्पियन प्रचारको पुरानै अस्त्र हो। प्रदर्शनमा रहेको फिल्म 'अनुराग' टिमले कलेज क्याम्पियन थाल्यो। फिल्म असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ। काठमाडौंका विभिन्न कलेजमा फिल्मकी अभिनेत्री एवंम् संचारकर्मी ऋषिराज धमालाकी पत्नी एलिजा गौतमा पुगिन्।
उनीसँगै फिल्मका कलाकार समुन्द्र पण्डितले पनि विद्याथीलाई फिल्मबारे जानकारी दिए। टिम जोरपाटीको समता कलेज र कौशलटारको जनप्रेमी कलेज पुगेका छन्। उनीहरुले त्यहाँ विद्यार्थीलाई फिल्मबारे जानकारी दिएका छन्।
ऋषि धमलाको प्रस्तुतिमा बनेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन्। फिल्ममा एलिजा र समुन्द्रसँगै ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौला लगायतको अभिनय छ।
एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म लभ स्टोरी विधामा बनेको छ। फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वाँरको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ।