PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

संविधान दिवस मनाइँदै : दीपावलीदेखि 'ब्ल्याक आउट' र शक्ति प्रदर्शनसम्म



बीपी साह

संविधान दिवस मनाइँदै : दीपावलीदेखि 'ब्ल्याक आउट' र शक्ति प्रदर्शनसम्म

काठमाडौं: संविधान जारी भएको असोज ३ गतेलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउँदैछ। संविधान दिवस भनी राष्ट्रिय दिवसका रूपमा मनाउन सरकारले धूमधामको तयारी गरेको छ।

तर, संविधान जारी हुनु अघिबाटै विरोध गर्दै आएका पक्षहरू भने यस पटक पनि संविधान दिवसको विरोध गर्दैछन्। वर्तमान सरकारमा सहभागी र सरकारलाई समर्थन गरेको दुईवटा दल पनि संविधान दिवसको विरोधमा प्रदर्शन गर्दैछ।
 
आदिवासी जनजातिहरूको छाता संगठन आदिवासी जनजाति महासंघले संविधान दिवसको अवसरमा विरोधको कार्यक्रम गर्ने निर्देशन दिएको छ भने स्वतन्त्र मधेशको माग गर्दै आएको डा.सीके राउत समूहले भने विभिन्न जिल्लामा शक्ति प्रदर्शन गर्दैछ।

सरकारको यस्तो छ तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित संविधान दिवस मूल समारोह समितिले असोज संविधान दिवसको पूर्व सन्ध्यामा दीवापली गर्दैछ। आज साँझ मुलुकभरका सरकारी कार्यालयले आआफ्नो कार्यालय परिसरमा तथा आम नागरिकले घरघरमा सरसफाई र दीपावली गर्न अपिल गरेको छ। उपत्यकाभित्रका सबै सरकारी कार्यालय, महानगरपालिका र नगरपालिकाहरूले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवं ब्यानर सजाई नगरको श्रृंगार र सरसफाई र दीपावली गर्न सरकारले भनेको छ।

असोज ३ गते बिहानदेखि साँझसम्म विभिन्न कार्यक्रमको घोषणा सरकारले गरेको छ। बिहान नेपाली सेनाले बिगुल बजाउने, तोप बन्दुक पड्काउने, पूजापाठ तथा प्रार्थना कार्यक्रम गर्ने, नेपाल टेलिभिजनबाट संविधान बारेको डकुमेन्ट्री प्रशासरण गर्ने, सञ्चारमाध्यमबाट विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

संघीय संसदको तयारी

संविधान दिवसको अवसरमा संघीय संसदले लोकतन्त्र मेला आयोजना गर्दैछ। असोज ४,५ र ६ गते काठमाडौं हुने मेलामा विभिन्न विषयमा गोष्ठी, अन्तरक्रिया तथा प्रदर्शनीको कार्यक्रम राखिएको छ।

राष्ट्रिय सभा अन्तर्गतको विद्यायन व्यवस्थापन समितिले मुख्य रूपमा उक्त मेलाको आयोजना गरेको छ।

राजपाको कार्यक्रम

संघीय संसदको तेस्रो ठुलो तथा सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी नेपालले संविधान दिवसको अवसरमा कालो दिवस मनाउँदैछ।

संविधान जारी भएदेखि नै विरोध गर्दै आएको राजपाले असोज ३ गते दिउँसो विभिन्न स्थानमा विरोध जुलुस तथा विरोध सभा गर्दैछ। त्यसै गरी साँझ सात बजेदेखि सवा सात बजेसम्म ‘ब्ल्याक आउट’ गर्दैछ।

फोरमको तयारी

संघीय सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपालले भने प्रदेश २ मा मात्र विरोधको कार्यक्रम गर्दैछ।

संघीय समाजवादी फोरमको प्रदेश २ समितिको निर्णय अनुसार असोज तीन गते बिहानदेखि कालो पट्टी बाँधेर विरोध गर्न भनिएको छ भने विभिन्न स्थानमा कालो झन्डा झुण्ड्याउने तयारी गरिएको छ। 

फोरमले पनि भोलि साँझ सात बजेदेखि सवा सात बजेसम्म ‘बल्याक आउट’ गर्ने निर्देशन कार्यकर्ताहरूलाई दिएको छ। तर फोरमको केन्द्रीय समितिले भने विरोधको कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ।

सीके राउतको कार्यक्रम

स्वतन्त्र मधेशको माग गर्दै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले असोज तीन गते मधेशका विभिन्न जिल्लामा शक्ति प्रदर्शन गर्दैछ।
 
राउतले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा बृहत् शक्ति प्रदर्शनका लागि ‘चलु जनकपुर, भरु जनकपुर’को प्रचारप्रसार एक महिनाअघिदेखि गर्दै आएको छ। अजोज तीन गते डा.राउतले जनकपुरमा सिराहा, धनुषा र महोत्तरीका सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रम राखेको छ। 

उक्त कार्यक्रमलाई राउतको शक्ति प्रदर्शनका रूपमा लिइएको छ। यसै गरी वीरगन्जको घण्टा घर, विराटनगर, रुपन्देही र नेपालगन्जमा पनि प्रदर्शन गर्ने तयारी राउत समूहको रहेको छ।

आदिवासी जनजाति महासंघको कार्यक्रम

आदिवासी जनजाति महासंघले संविधान दिवस नमनाउन आग्रह गरेको छ। महासंघले संविधानप्रति आफूहरूको असन्तुष्टि कायम रहेकोले संविधान दिवसमा आयोजना हुने कुनै पनि कार्यक्रममा सहभागी नुहन निर्देशन दिइएको छ।
 
संविधान दिवसमा कुनै कार्यक्रम गर्नु परे विरोधको कार्यक्रम गर्न महासंघले निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell