
काठमाडौं : भारतमा रहेका नेपालीहरुलाई राज्यविहीन हुनबाट रोक्न नेपालको संसदमा माग उठेको छ।
भारतमा रहेका लाखौं लाख नेपाली राज्यविहीन हुन लागेको भन्दै सत्ता पक्षका सांसद सुरेन्द्र कुमार कार्कीले भारत सरकारसँग छलफल चलाउन सरकारलाई आग्रह गरेका छन्।
‘नेसनल रेजिस्ट्रेशन अफ सिटिजन लागू भएको छ। नेपालबाहिर सबभन्दा बढी नेपाली भाषी जनता रहेको ठाउँ भारतको असाम राज्य हो। त्यहाँ र उत्तर पूर्वका सात वटै राज्यमा रहेका लाखौं लाख नेपालीहरु अब राज्यविहीन बन्ने अवस्थामा पुगेका छन्,’ कार्कीले प्रतिनिधिसभाको आजको बैठकमा भने, ‘हाम्रो नेपालको कुटनीतिक क्षेत्रले यसमा ध्यान दिनु पर्यो। नेपालको कुटनीतिको एउटा हिस्सा त्यहाँ रहने गरेका नेपालीहरु बन्ने गरेका थिए। त्यसले हामीलाई राम्रो सम्प्रभुतालाई जोगाउनको निम्ति पनि सघाउ पुगेको थियो।’
कार्कीले थपे, ‘अहिले सरकारले भारतसँग कुरा गरेर ती नेपालीहरु जसले भारतको सीमा रक्षा गरे तिनैका सन्तानहरु चै स्टेटलेस हुनुपर्ने अवस्थाबाट उनीहरुलाई जोगाउन भारत सरकारको अगाडि कुराकानी गरियोस्।’