
काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकमा ‘पल्सर’ मोटरबाइक हुने भएको छ।
ए डिभिजन लिगको लमागि मंगलवार एक कार्यक्रमकाबीच हंसराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा र एन्फाका मार्केटिङ म्यानेजर तथा रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईले सम्झौतामा हस्ताक्षर गरे।
एन्फाले लिगको प्रायोजन र मार्केटिङको अधिकार रामसार मिडियालाई पहिलाे बर्षकालागि एक करोडमा बेचेको थियो। एन्फाले त्यसका लागि रामसारसँग ३ वर्षको सम्झौता गरिसकेको छ। जसअन्तर्गत रामसारले दोस्रो वर्ष डेढ करोड र तेस्रो वर्ष २ करोड एन्फालाई प्रदान गर्नेछ।
सम्झौता अनुसार पल्सर अगामी तीन वर्षको लागि ए डिभिजन लिगको मुख्य प्रायोजकको रुपमा रहनेछ।
हंसराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले नेपालको सबैभन्दा ठूलो लिगसँग जोडिन पाउँदा एकदमै खुशी लागेको बताएका छन्। उनले नेपालको खेलक्षेत्रलाई सँधै सहयोग गर्दै आएको बताउँदै मुख्य उदेश्य भनेको नेपालको युवा र खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन रहेको बताए।