
काठमाडौं : चर्चित बेलायती न्यायाधीश विलियम ब्ल्याकस्टोनले सन् १७६५ मा भनेका थिए - बरु दश दोषीहरु उम्किउन एउटा निर्दोषले दु:ख नपावस्। इस्वीको ५३५ मा रोमन कोडेक्स जस्टिनियसको अवधारणालाई पुनर्व्याख्या गर्दै 'कमेन्ट्रिज अन दी लज अफ इङ्ल्यान्ड'का लेखक ब्ल्याकस्टोनले दिएको यो कालजयी विचार कानुनी शासन भएका धेरै ठाउँमा लागू हुन्छ। तर, नेपाल प्रहरीका पछिल्ला गतिविधि हेर्दा लाग्छ ब्ल्याकस्टोनको बोलीको कुनै तुक छैन। ३३ किलो सुन प्रकरण, निर्मला बलात्कार र हत्याकाण्ड, दरबारमार्ग बलात्कार काण्ड, भक्तपुर इन्काउन्टर आदि यिनका साक्षी हुन्।
यीमध्ये १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाले सबैभन्दा ठूलो आकार लिएको छ भलै अन्य प्रकरणका गुत्थी सजिलै खुलेका छैनन्। निर्मला प्रकरणमा प्रहरीको अनुसन्धान देखिनेगरी बद्नाम भयो। अनि सबैलाई सोच्न बाध्य बनायो- के प्रहरीले अपराधी भन्दै जेलमा कोचेका मानिस दिलीपसिंह विष्ट झैं त होइनन्?
त्यसो त आइतबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई विफ्रिङ गर्दै भनेका थिए- 'एक निकम्मा प्रहरीका कारण सङ्गठन नै बदनाम हुने अवस्था नआवोस्। कसैले आर्थिक प्रलोभनमा परेर काम गर्छ र कमाण्ड समाल्न सक्दैन भने छोडेर गए हुन्छ।'
कञ्चनपुर घटनापछि प्रहरीको अनुसन्धानको चेहेरा खुला भएपछि प्रहरी केही हच्किएको अनुभव गर्न सकिन्छ। घटनाको नेतृत्व गर्ने एसपीदेखि असइसम्म निलम्बनमा परेका छन्। अपराधी खोज्ने र न्यायको रक्षा गर्ने प्रहरी अफिसरमाथि नै पोलिग्राफ र डिएनए टेस्ट भइरहेको छ।
एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी निलम्बनमा परेका छन्। उनीहरू माथि लिखित बयान भइरहेको छ। यसले प्रहरीमा गिर्दो साखको पहिरो केही कम भएको छ, थामिएकै भने छैन। बर्दी लगाएर कसैले पनि गलत काम गर्छ भने त्यसलाई कारबाही गर्ने प्रहरी प्रमुखको अभिव्यक्ति त्यसैको संकेत हो। पहिलोपोस्टसँगको कुराकानीमा महानिरीक्षक खनालले भने, 'सङ्गठनको छवि धमिल्याउने जो भए पनि कारबाही हुन्छ।'
चार महिना : १३५३ प्रहरी पुरस्कृत हुँदा ४९५ कारबाहीमा
गत वैशाखदेखि साउन मसान्तसम्म उत्कृष्ट कार्यसम्पादन गर्ने १३ सय ५३ प्रहरी अधिकृतहरू पुरस्कृत भए। यही चार महिनाको अवधिमा ४ सय ९५ जना प्रहरी कारबाहीमा परे। यसरी कारबाहीमा पर्नहरुमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन्। चार महिनामा ३ सय ५० जना प्रहरी जवान कारबाहीको भागीदार बनेको प्रहरीको तथ्याङ्कले देखाएको छ। कारवाही भोग्नेमा दुई जना एसएसपी समेत छन्। नागरिकसामु धमिलिँदै गएको प्रहरीको छविको अर्को पाटो हो कारवाही जसले अझै पनि प्रहरीको नाक जोगाउन मद्दत गर्न सक्छ।२०७४ साल वैशाखदेखि साउनसम्म ७ सय २२ जना कारबाहीमा परेका थिए। चार महिनाको अवधिमा तीन जना प्रहरीको पद घटुवा गरिएको थियो। ११ जना प्रहरीको बढुवा रोक्का गरिएको थियो। गत वर्ष २ हजार २ सय ६५ प्रहरीहरुलाई विभागीय कारवाही गरिएको थियो, यस्तै यस्तै प्रकरणमा।
एसएसपी सहित ४९ जना निलम्बित
एसएसपी सहित ४९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले चार महिनाको अवधिमा निलम्बन गर्यो। गत वर्षको यही चार महिनामा भने ६४ जना प्रहरीहरू निलम्बनमा परेका थिए। यसरी निलम्बित हुनेहरूमा २ एसएसपी समेत थिए। गत वैशाखमा ३३ किलो सुन प्रकरणमा एसएसपी दिवेश लोहनीलाई अदालतले थुनामा पठाएसँगै निलम्बनमा परेका थिए। उच्च अदालत विराटनगरले थुनामा रहेका एसएसपी लोहनीलाई रिहा गर्न अदालतले आदेश दिएको छ। भदौ महिनामा भने एसपी सहित ५ प्रहरी अधिकृत निलम्बित भइसकेका छन्। निर्मला पन्त प्रकरणमा लापरबाही गरेको भन्दै एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी निलम्बनमा परेका छन्।
वर्दीको भरमा हुने 'दादागिरी'ले नै दोषी उम्कने र निर्दोषमाथि 'परिवन्द' सिर्जना गर्नेक्रम बढेको हो। प्रहरीमाथि कारवाहीको डन्डा चल्ने हो भने सुरक्षा दिने नाममा प्रहरी अधिकृतहरुको मनोमानी गतिविधि पक्कै कम हुन सक्छ। यसलाई शून्यमा झार्न भने कहिल्यै सकिन्न। किनकी वर्दीमा रहने कुनै कुनै व्यक्तिको मनस्थिति अपराधीभन्दा कम नहुनसक्छ। अनि उसले गर्ने कर्म अपराधभन्दा कम नहुनसक्छ। अनि त्यतिखेर वदनाम हुने भनेको त्यो प्रहरीमात्र होइन, सिंगो संगठन नै हो। अनि त्यो गतिविधि जब जनताले बुझ्नेगरी सार्वजनिक हुन्छ त्यतिखेर उघारिएको चेहरामा हुन्छन् - डिल्लीराज विष्ट, ज्ञानबहादुर सेटी, अंगुर जिसीहरु।
निर्मला प्रकरणमा सिंगो समाज नै विद्रोही बन्यो। र, गोलीको सिकार भए केही जसमध्ये एक बालकको मृत्यु नै भयो। अनि त्यतिखेर फेरि यही कुरा याद हुन्छ - बरु दश दोषीहरु उम्किउन, एउटा निर्दोषले दु:ख नपावस्। कानुनी राज्यको मान्यतामा विश्वास नगर्नेहरुका लागि ब्ल्याकस्टोनका कालजयी वाणी – 'आखिर भन्ने कुरा न हुन्....' मात्र नहोला भन्न सकिन्न।