
काठमाडौँ : पर्यटकिय नगरी पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीए) टी-२० क्रिकेटका लागि खेलाडी दर्ता प्रकिया सुरु भएको छ। आयोजक क्वीन्स इभेन्ट्स प्रालीले बुधवार विज्ञप्ती जारी गर्दै खेलाडी दर्ता सुरु भएको जनाएको छ।
पहिलो संस्करणको पीपीएल खेल्न चाहने खेलाडीले लिगको अधिकारिक वेबसाइट www.ppl-t20.com मा आफ्नो नाम दर्ता गराउन सक्नेछन्। खेलाडीका लागि दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ र उक्त रकम इ-सेवाबाट बुझाउन सकिने समेत आयोजकले बताएको छ।
आगामी कात्तिक ९ गतेबाट पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।
सहभागी टिमले १५-१८ खेलाडी दर्ता गर्न सकिने आयोजकले जनाएको छ।
पीपीएलका लागि तीन समूहमा विभाजन गरे खेलाडी दर्ता गर्ने व्यवस्था आयोजकले मिलाएको छ। जसअनुसार क्याप्ड सिनियर, क्याप्ड एज लेभेल र अनक्याप्ड खेलाडी समूहमा खेलाडीले आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
क्याप्ड सिनियरमा नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई राखिने छ। यस समुहअन्तर्गत पर्ने प्रत्येक खेलाडीको न्युनतम मुल्य ५० हजार रुपैयाँ र अधिकतम मूल्य २ लाख ५० हजारसम्म रहने छ।
यस्तै क्याप्ड एज लेभलमा यू-१५, यू-१७, यू-१९, यू-२१ र यू-२३ एज ग्रुपमा नेपालको प्रतिनिधितव गरिकसका खेलाडीहरु रहनेछन्। यस समुहमा रहने खेलाडीको न्युनतम मूल्य ५० हजार र अधिकतम मुल्य १ लाख ५० हजारसम्म रहनेछ।
अनक्याप्ड समुहमा नेपाली राष्ट्रिय टोली र उमेर समुहको टोलीबाट नखेलेका अन्य खेलाडीलाई समावेश गरिएको छ। यस सूचीमा रहने खेलाडीको मूल्य न्युनतम ३० हजार र अधिकतम १ लाख रुपैयाँसम्म रहनेछ।
आयोजकले पीपीएलका लागि कम्तीमा १५ र बढीमा १८ खेलाडी राख्न सकिने जनाएको छ। जसअन्तर्गत १० खेलाडी अक्सनबाट लिनुपर्नेछ।
प्रत्येक टोलीले १ मार्की खेलाडी, २ विदेशी खेलाडी र २ स्थानीय खेलाडी ‘लोकल आइकन’ लाई लिनु पर्नेछ।
पीपीएलमा दर्ता गराउने खेलाडीले आफ्नो क्याटेगोरीअनुसार न्युनतम मूल्य बढाएर समेत नाम दर्ता गराउन सक्ने व्यवस्था आयोजकले राखेको छ। रत्यसका लागि वेबसाइटमा छुट्टै विकल्प समेत बयोजकले राखेको छ।
खेलाडी दर्ता समय एक साताको लागि रहनेछ। पीपीएल खेल्न चाहने खेलाडीले आजदेखि असोज ९ गते (सेप्टेम्वर २५) सम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
पीपीएल अहिलेसम्मकै धेरै पुरस्कार राशीको टी-२० लिग हुने आयोजकले जनाएपनि पुरस्कार रकम भने खुलाएको छैन।