काठमाडौँ : नेपाल नम्वर वान रन्तजित तामाङ र दोस्रो वरीयताका दीपेश धामी तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन्।
बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा बुधबार भएको पुरुष एकलतर्फ नेपाल नम्वर वान तथा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले सुर्खेतका रोहित मल्लमाथि २१–३, २१–६ को सहज जित हात पारे।
पुरुष एकलमै एपीएफका दीपेश धामीले सुर्खेतका चक्र साउदलाई २–० ले नै हराए। पुरुष एकलतर्फ विष्णु कटुवाल, प्रिन्स दाहाल, रुकेश महर्जन, नवीन श्रेष्ठ, साजनकृष्ण ताम्रकार पनि आ–आफ्नो खेल जित्दै दोस्रो चरणमा पुग्न सफल भए।
महिला एकलतर्फ एपीएफकी शोभा गौचन र रसिशला महर्जनले विजयी शुरुवात गरेकी छन्। गौचनले जेस्टकी मनिष खड्कामाथि २–० को सहज जित निकालिन्। आर्मीकी रसिलाले जेस्टकी महिमा श्रेष्ठलाई २–० कै सेटमा पराजित गरिन्। यस्तै सीता राई, सुनैना मुखिया, जेसिका गुरुङ, अनुमाया राई, अरुणा तामाङ र अमिता गिरीले दोस्रो चरणमा स्थान बनाउन सफल भएकी छन्।
पुरुष एकल खुल्ला, पुरुष डबल्स (टप–२० बाहेक), महिला एकल खुल्ला, यु–१५ पुरुष खुल्ला र यु–१५ महिला एकल खुल्ला, मिक्स डबल्स खुल्ला, मास्टर ३५ वर्षमाथि खुल्ला, मास्टर ४५ वर्षमाथि खुल्ला र पुरुष डबल्स खुल्लामा गरी ४३ टिमका ३०५ खेलाडीले सहभागिता जनाएका छन्।
प्रतियोगिताको पुरुष सिंगल्र्सतर्फको विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान ५–५ हजार प्राप्त गर्नेछन्। महिला एकलतर्फको विजेताले २५ हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गर्नेछ । यसअघिको दुवै संस्करणको पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र महिला एकलमा आर्मीकै नङ्सलदेवी तामाङ च्याम्पियन बनेको थियो।