PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

संविधान दिवसमा शितल निवासमा रात्रिभोज, यस्तो रह्यो राष्ट्रपतिको सम्बोधन



पहिलोपोस्ट

संविधान दिवसमा शितल निवासमा रात्रिभोज, यस्तो रह्यो राष्ट्रपतिको सम्बोधन

काठमाडौँ : संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत तथा कूटनीतिक नियोगप्रमुख दम्पत्तिका लागि बुधबार शितल निवासमा रात्रिभोजको आयोजना गरिन्। स्वागत समारोहमा उनको सम्बोधन यस्तो रह्यो-

सम्माननीय प्रधानमन्त्री,
सम्माननीय प्रधान न्यायाधीश,
प्रतिनिधि सभाका सम्माननीय सभामुख,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,
माननीय मन्त्रीहरु,
विशिष्ट महानुभावहरु,
महामहिम राजदूत तथा नियोगप्रमुख दम्पत्ति,
राष्ट्रसेवकहरु,
भद्रमहिला तथा सज्जनवृन्द !

आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको सुखद उपलक्ष्यमा आयोजित यस कार्यक्रममा तपाइँहरु सबैलाई राष्ट्रपति भवन, शीतल निवासमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ । 

हामीले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा स्वदेश तथा विदेशमा विशेष समारोहका साथ उल्लासपूर्वक मनाउँदै आएका छौँ । 

लोकतन्त्रका आधारभूत मान्यताहरु वाक तथा प्रकाशन स्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानव अधिकार  र सामाजिक न्यायका लागि नेपाली जनताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको संविधान रहेको छ । 

संविधानको मर्म र भावना अनुसार शान्त, सुखी र सम्पन्न नेपाल बनाउन हामी प्रतिबद्ध रहेका छौँ । 

संविधानले राजनीतिक संक्रमणकाल समाप्त पारेको छ । 

लोकतन्त्रको संस्थागत विकासका साथै संघीय शासन पद्धतिमा मुलुक पदार्पण गरेको छ । 

नयाँ संविधान बमोजिम स्थानीय, प्रादेशिक र संघीय तीनै तहको निर्वाचन सम्पन्न भैसकेको छ । 

देशको सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दूमा राखी अघि वढ्न यस अवसरमा म तीनै तहका जनप्रतिनिधि, राष्ट्रसेवक, राजनीतिक दल र आमनागरिक समक्ष आव्हान गर्दछु । 

विशिष्ट कूटनीतिक समुदाय,
विश्व शान्तिका अग्रदूत बुद्धको जन्मस्थल रहेको यस धर्ती नेपालका जनता शान्ति, सद्भाव र भातृत्वका पक्षमा सदैव उभिएका छन् । 

संयुक्त राष्ट्र संघको बडापत्र र त्यसको नीतिप्रति हाम्रो पूर्ण सम्मान रहिआएको छ । 

त्यसैको सिद्धान्त अनुसार हामी हाम्रा छिमेकीलगायत विश्वका सबै राष्ट्रसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सधैँ तत्पर छौँ । 

संविधानको सर्वोच्चता, कानूनको शासन, मानव अधिकार र लोकतन्त्रका सबै मूल्य मान्यताप्रति नेपाल सदैब प्रतिबद्ध रहिआएको छ । 

नेपाल असंलग्न आन्दोलनको एउटा संस्थापक मुलुकका साथै सार्क,विमस्टेकजस्ता क्षेत्रीय सहयोग संगठनको अवधारणाप्रति समर्पित मुलुक हो । 

त्यसैले हामी यसक्षेत्रका राष्ट्रहरुसँग मिलेर आर्थिक विकासलगायतका साझा चासोबाट लाभान्वित हुन चाहन्छौँ । 

त्यसैगरी विश्वका सबै मुलुकसँग पंचशीलका आधारमा शान्तिपूर्ण सुमधुर सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छौँ । 

मलाई आशा छ, हाम्रो यो सरोकारलाई छिमेकीलगायत सबै मित्रराष्ट्र एवं शुभेच्छुक अन्तर्राष्ट्रिय संघसंस्थाहरुले सकारात्मकरुपमा बुझ्नु भएको छ । 
अन्तमा, नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको महत्वपूर्ण अवसरमा आयोजित यस समारोहमा नेपालमा लोकतन्त्रको स्थापना र संस्थागत विकासका निम्ति सद्भाव प्रकट गर्ने र सामाजिक आर्थिक रुपान्तरण अभियानका साझेदार मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाप्रति धन्यवाद दिन चाहन्छु । 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell