फिल्म 'के म तिम्रो होइन र?'बाट डेब्यु गर्नुअघि अभिनेता आर्यन अधिकारीलाई चिन्ने दर्शक धेरै थिएनन्। दर्शकका लागि उनी नौलो थिए। तर नेपाली फिल्म इन्डस्ट्रीको लागि भने उनी नयाँ थिएनन्।
पर्दा अगाडिभन्दा पहिले पर्दा पछाडि काम गरे। प्राविधिक पाटो सम्हाल्दै गर्दा उनले पनि हिरो बन्ने सपना नदेखेका होइनन्। तर कहिले मेकअप आर्टिस्टको असिस्टेन्ट रहे त कहिले कोरियोग्राफरको। क्ल्याप पनि हान्थेँ। केही कलाकारलाई ल्याउन पुर्याउन गएको अनुभव पनि उनीसँग छ।
भन्छन्,'सबै अनुभव संगाल्ने र सपना देख्ने अवसर रहेछ।'
फिल्मकर्मी आकाश अधिकारीका भतिज उनको हकमा फिल्म क्षेत्रमा छिर्न सोर्स फोर्सले काम गरेन। भन्छन्,'मेहनत गर्न सिकाउनु भयो।'
कक्षा तीनबाट चारमा जाँदा स्कुल परिवर्तन गरे। नयाँ शिक्षकले सोधेका थिए- भविष्यमा के बन्छौ? उनले पहिलोपटक भनेका थिए,' म ठूलो भएर हिरो बन्छु।'
डाक्टर, इन्जिनियर बन्छु भन्ने साथीहरू स्वर मिलाएर हाँसेको अझै सम्झन्छन्। जिस्क्याउन पछिसम्म सोध्थे 'तँ हिरो बन्ने है।'
'उनीहरूलाई पछि थाहा भयो मेरो काका फिल्मकर्मी हो भन्ने। त्यसपछि जिस्क्याउन छाडे।'
00000
त्यसताका आकाश मुम्बईतिर बस्थे। फिल्मकर्मकै लागि। आर्यनलाई नि काका इन्डस्ट्रीमा हुनुले ढुक्कै हिरो बन्छु भन्ने थियो। फिल्म र अभिनयतर्फको झुकाव बढ्यो। 'साथीहरू बीचमा काकाको चर्चा हुँदा समेत म नाक फुलाएर बस्थेँ। सोच्थेँ- स्योर फिल्म खेल्ने हो।'
पछि आफूले फिल्म सजिलो काम नभएको महसुस गरेको सुनाए। भने,'त्यतिखेर त मलाई फिल्म भनेको के हो, फिल्म क्षेत्र के हो भन्ने नै थाहा रहेनछ।' उनले बिस्तारै फिल्म क्षेत्रलाई हल्का रूपमा लिन छाडे। सायद यही कुरा बुझाउन पनि आकाश अधिकारीले उनलाई सजिलै पर्दामा देखिन दिएनन्।
१० वर्षको उमेरदेखि सुटिङ हेर्न कुदेका उनले पहिलोपटक काकासँगै लागिपरेर फिल्म 'पंक्षी'मा प्राविधिक काम गरे। भर्खर एसएलसी सकेर नवलपरासीबाट काठमाडौँ आएका आर्यनले दु:ख देखे। त्यतिखेर काकाले फिल्मको सम्पादक बन्न हौस्याउँथे। 'हिरो बन्ने रहर गढेर बसेको थियो। तर भन्न सकिन्न। त्यसैले दुईदिन सम्पादन सिकेँ। मन टिकेन।'
00000
म गर्दागर्दै १२ कक्षासम्मको अध्ययन सके र अमेरिका उडे। उनको फिल्मी यात्रामा ब्रेक लाग्यो। पढाई बहाना थियो तर उनको मनमा फिल्म क्षेत्रको भित्री कथाले नकारात्मक असर पारेको थियो।
सम्झे,'त्यतिखेर टिक्न र बिक्न गाह्रो थियो। बाहिर सबैले वाह भने पनि मलाई भित्रको पिडा थाहा थियो। त्यसैले गएको हुँ।'
अमेरिकाका सुरुवाती दिनका व्यथा पनि सामान्य भने छैनन्। चार कक्षामा बल्ल ए, बी, सी, डी पढेका उनको लागि अङ्ग्रेजी गाह्रो थियो। अङ्ग्रेजी लेख्न बोल्न राम्ररी आउँदैनथ्यो। 'तर काममा लागेपछि मान्छेसँग बोल्न पर्दैन थियो। ढुक्क भयो।'
पढ्न उनले खाली समय काम गरे। तर काम गरेर जम्मा भएको पैसा टिकेन।
'अमेरिका पुगेको दुई वर्षमा दुईपटक कार दुर्घटना भयो। आराम गर्नुपर्यो। ४० हजार डलर खर्च भयो। पैसा सक्कियो, उनी सुनाउँछन्।
अमेरिकाको एक्टिङ कर्प्स, सानफ्रान्सिस्को माइज्नर टेक्निक स्टुडियोमा अभिनय सिके।
00000
८ वर्षको अमेरिका बसाइ २०१५ मा टुङ्गियो। पढाई र पुरानो अनुभवलाई निखार्नतर्फ लागे। मेहनत गरे र आफैंलाई काकाको अगाडि प्रुभ गरे। जसको नतिजा २०१६ मा पहिलो फिल्म 'के म तिम्रो होइन र'मा मुख्य भूमिका पाए।
डेब्यू फिल्म हिट भयो। उनलाई सबैले नोटिस गरे। उनलाई फिल्मको अफर ओइरियो।
काकाको आडमा फिल्म पाएको आरोप पनि नलाग्ने होइन तर उनलाई त्यस्तो कुराको मतलब लाग्दैन।
'डाक्टरले आफ्नो परिवारका सदस्यलाई मेडिकल लाइनमा नै देख्न चाहन्छ। मेरो हकमा पनि त्यही हो। काकाले सपोर्ट गर्नुहुन्छ तर एफोर्ट त मैले नै लगाउनु पर्छ', थप्छन्,'सबैतिर भनसुनले चल्दैन।'
उनको लागि सङ्घर्ष भनेको फिल्म रिजेक्ट हुनु, फिल्म नपाउनु होइन। उनी त अभिनय सिक्न गरेको मेहनत र दिएको समयलाई संघर्ष सोच्छन्।
भने, 'काका वा दाइको सहयोगमा म फिल्म क्षेत्रमा चाँडै आउन सक्थेँ। तर मैले छोटो र सजिलो होइन मेहनतको बाटो रोजेँ। म लामो रेसको घोडा बन्न चाहन्छु।'
उनी आफू अझै पनि संघर्षको बाटोमा भएको सुनाउँछन्। त्यसैले एउटा फिल्म गरेर हिरो बनेर फर्किएनन्। भने,'म फिल्मकै कारण नेपालमा छु।'
दोस्रो फिल्म हो 'बटरफ्लाई'मा अभिनेत्री प्रियंका कार्कीसँग स्क्रिन सेयर गरे। जसले आफूलाई निखार्नमा अझै सहयोग गरेको बोल्छन्। भने,'अमेरिकामा बसेर, काम गरेर पैसा कमाएर मैले यो सब कहाँ पाउँथे र?'
फिल्म 'बाँध मायाले'
'बटरफ्लाई'ले व्यावसायिक रूपमा राम्रो गरेन। तर उनी आजित भएनन्। बरु तेस्रो फिल्म 'बाँध मायाले'का लागि सक्दो मेहनत गरे। उनले पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग स्क्रिम सेयर गरेका छन्।
फिल्मको नेपाल प्रदर्शन अगाडि नै सिड्नी प्रियिमयर सम्पन्न भयो। फिल्मबाट उनले सकारात्मक प्रतिक्रिया बटुलेका छन्।
'बाँध माया'ले चल्नेमा उनी ढुक्क सुनिन्छन्। यसपछि भने एक्सन फिल्म गर्ने रहर भएको सुनाउँछन्। र योजना पनि सानो पक्कै छैन। 'भविष्यमा म फिल्म मेकरको रूपमा काम गर्नेछु। परिवार र दर्शकको साथ मसँग छ।'