PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

सवारी ऐनले मार परेको भन्दै गाडी नचलाउन धम्की, बन्द गराउँदै हिँड्ने समातिए



पी बी खड्का

सवारी ऐनले मार परेको भन्दै गाडी नचलाउन धम्की, बन्द गराउँदै हिँड्ने समातिए

सुर्खेत : मंगलवारदेखि सुर्खेत बसपार्कबाट बाहिरिने अधिकांश बसहरु छुट्न सकेका छैनन्। लामो दुरीका बस नछुट्दा यात्रु अलपत्र परेका छन्। सरकारले जारी गरेको सवारी तथा यातायात व्यवस्था ऐन तेस्रो संशोधनमा भएको व्यवस्थाले चालकहरु मारमा परेको भन्दै मंगलवारबाट चालकको नाममा  गाडी नचलाउन धम्की दिएकाले गाडी चल्न नसकेका हुन्।
 
प्रहरी प्रशासनले यातायात सेवालाई सुचारु गर्ने क्रममा बिहीवार सुर्खेत बसपार्कमा बन्द गर्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ। जबर्जस्ती यातायातका साधन नचलाउन भन्दै हिँडेका एक व्यक्ति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  यातायातका साधनमाथि जवरजस्ती बन्द गराउँदै हिँड्ने जोही कसैलाई पनि नछाड्ने प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए। 

‘बसपार्कमा जबरजस्ती बन्द गराउँन खोज्दै हिँड्ने एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘जबरजस्ती बन्द गराउँदै हिँड्ने जो कोहीलाई पनि छाड्दैनौं, सकेसम्म यात्रुले दुःख नपाउन भन्ने हाम्रो चाहाना हो, प्रहरी पनि परिचालन भइसकेको छ।’

सुर्खेतका अन्य यातायात प्रालि र समितिले गाडी बन्द गरे पनि देउती नागरिक यातायात प्रालिले भने सबै रुटमा चालू राखेको छ। प्रालिका अध्यक्ष कमल खड्काले भने, ‘हाम्रो समिति सबै गाडी निर्वाध रुपमा सबै रुटमा सञ्चालन छन्। उनले कसले बन्द गराएकोसमेत थाहा नभएको बताए। 'बन्द गराउने कुनै आधिकारिक जानकारी आएको छैन, हल्लाको पछाडि लागेर बन्द गर्नु भएन,’ उनले भने। यातायात क्षेत्रमा दादागिरी गर्नेहरुले बन्द गराएर नागरिकलाई सास्ती दिन खोजेको उनको तर्क छ।

प्रहरी परिचालन 

गाडीहरु निर्वाध रुपमा सञ्चालन गराउन जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा बसपार्क क्षेत्रमा प्रहरी परिचालन गरिएको एसपी रजौरेले बताए। गाडीलाई स्कर्टिङ गरेर जसरी पनि गन्तव्यमा पुर्याउन लागि परेको उनको भनाइ छ।
जिल्लामा भित्रिने र बाहिरिने प्रमुख नाकामा प्रहरी परिचालन गरिएको छ। नाकामा बन्दकर्ताले अवरोध गरेको सूचना आएलगत्तै प्रहरीलाई परिचालन गरिएको उनले बताए। यातायातका साधनमा कुनै पनि असर पुर्याउने गतिविधि गर्नेलाई तत्काल पक्राउ गर्ने निर्देशन दिएको उनले बताए। 

यस्तो छ नयाँ कानुनी व्यवस्था

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा १६१ को उपधारा एकले ज्यान मारेमा हुने सजायको व्यवस्था गरेको छ। कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिइ वा कुनै किसिमले सवारी दुर्घटना गराई मृत्यु भएको खण्डमा त्यस्तो कार्य गरेमा र ज्यान मार्ने मनसाय लिई गरेको भए सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ। तर, ज्यान मार्ने मनसाय लिइ त्यस्तो कार्य गरेमा ज्यान मार्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई पनि कसूरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ। उपधारा २ ले दुर्घटनाको कारणबाट मृत्यु भएमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए ता पनि त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार दुई वर्षेखि दश वर्षसम्म कैद हुने व्यवस्था छ।

सोही ऐनको धारा १६२ ले अङ्गभङ्ग भएमा हुने सजायको व्यवस्था गरेको छ। सोही धाराको उपधारा १ ले कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई अन्धो वा नपुंसक मध्ये जुनसुकै कुरा भए पनि त्यस्तो कार्य बदनीयतसाथ गरेको भए सवारी चलाउने व्यक्तिलाई ८ वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ। तर, अहिले संशोधन गरिएको ऐनमा कैद यथावत राखिएको छ भने जरिवाना ३ लाख पुर्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell