2.jpg)
- सहयोग रञ्जित -
इन्द्रजात्रा (असोज ८ गते सोमबार) का दिन राष्ट्रप्रमुख लगायत विशिष्ट व्यक्तिले बसन्तपुरस्थित गद्दी बैठकबाट कुमारीको रथयात्रा हेर्ने प्रचलन रहेकोमा भूकम्पमा परी भवन क्षतिग्रस्त भएपछि त्यो परम्परा रोकिएको थियो। पुननिर्माण नभइसकेका कारण भूकम्पपश्चात् वसन्तपुर स्थित डबलीमा पालमा विशिष्ट अतिथिहरुलाई राखे कार्यक्रम संचालन गरिएको थियो।
भवनको पुननिर्माण सकिसकेकाले यसपटक गद्दी बैठकबाटै रथयात्रा र जात्रा अवलोकन हुने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले बताए।
शाक्यले भने 'भूकम्पका कारण भवन क्षतिग्रस्त भएपछि वसन्तपुरस्थित डबलीबाट कार्यक्रम गर्नुपर्ने बाध्यता सिर्जना भयो। हाल भवनको पुनर्निर्माण भर्इ नेपाल सरकारलार्इ हस्तान्तरण भइसकेका कारण परम्परादेखि चलिआएको संस्कार अनुरुप गद्दी बैठकबाटै जात्रा अवलोकनको व्यवस्था गरिने छ।'
राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक गद्दी बैठकबाट जात्रा अवलोकन गर्ने शाक्यले बताए। पूर्वराष्ट्रपति रामवरण यादवले भने गद्दी बैठकबाटै जात्रा हेरेका थिए।
२०७२ वैशाख १२ गतेको भूकम्पमा परी क्षतिग्रस्त भएपछि एक सय १० वर्ष पुरानो गद्दी बैठक क्षतिग्रस्त भएको थियो। अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषको सहयोगमा पुनर्निर्माण भएको गद्दी बैठक गत असार १३ गते नेपाल सरकारलार्इ हस्तान्तरण गरिएको थियो।
शुक्रबार बिहान हनुमानढोकामा नालाबाट ल्याइएको लिंगो इन्द्रध्वजोत्थान गरिसकेपछि काठमाडौँमा एक साता लामो इन्द्रजात्रा विधिवत् रुपमा सुरु हुनेछ।