PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सेना भन्छ : डिपिआर तयार गर्ने कम्पनी छनोट भइसक्यो, चार वर्षमा फास्ट ट्र्याक बन्छ



दिनेश खड्का

सेना भन्छ : डिपिआर तयार गर्ने कम्पनी छनोट भइसक्यो, चार वर्षमा फास्ट ट्र्याक बन्छ

काठमाडौं : नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्ग समयमा नै सम्पन्न गर्ने गरी काम भइरहेको जनाएको छ। बिहीवार सैनिक जंगी अड्डाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाले कार्यतालिका अनुसार नै काम भइरहेको जनाएको हो।

सुरुमा सेनाले नै डिपीआर तयार गर्ने भनिए पनि डिपिआरको लागि कोरियाली परामर्शदाता कम्पनी सुसुङ छनोट गरिएको उपरथी योगेन्द्र बहादुर खाँणले बताए। उनले भने, 'भदौ २९ गते नै छनोट गरेर कोरियन कम्पनी सुसुङलार्इ पत्र पठाइसकेका छौं। ग्लोबल टेण्डरमा आवेदन दिएकामध्ये आर्थिक र प्राविधिक रुपले उत्कृष्ट कम्पनी छनोट गरेका हौं। असोज ६ गते कम्पनीसँग सम्झौता गर्दैछौं।'

यसअघि फाष्ट ट्र्याक भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको प्रतिवेदन आंशिक रुपमा मात्रै काम लाग्ने र मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले आफैँले डिपिआर बनाउने निर्णय गरेको हो। खाँणका अनुसार दोस्रो साता कोरियाली कम्पनीसँग सुम्झौता गरेर डिपिआर निर्माण प्रक्रिया तत्काल अघि बढाइने छ। कम्पनीले चार महिनामा डिपिआर तयार पार्ने छ। नेपाली सेनाका अनुसार डिपिआर बनाउनका लागि १० करोड १५ लाख रुपैया लाग्ने छ। 

सेनाले यो आर्थिक वर्षभित्रमा ५४ किलोमिटर खण्डको सवग्रेड फर्मेसन स्तरको कटिङ / फिलिङको काम सक्ने लक्ष्य बनाएको छ। ट्र्याक निर्माणका लागि १९ हजार ६ सय १४ रुख काटेको सेनाले जनाएको छ। काटिएको १ बराबर २५ विरुवा रोपिँदै छ। कटान गर्न साढे तीन महिना लाग्यो भने २० हजार रुख काटिने प्रारम्भिक अनुमान थियो।
 

थप तीनवटा सुरुङमार्ग 

फाष्ट ट्र्याकमा तीनवटा सुरुङमार्ग निर्माण हुने छ। सम्भाव्यता अध्ययन प्रतिवेदनको रेखाङ्कन परिवर्तन गर्दै तीन वटा सुरुङमार्ग निर्माण गर्न लागेको फाष्ट ट्र्याक आयोजना प्रमुख तथा प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँणले जानकारी दिए।

खाँणका अनुसार महादेव डाँडामा (छोक्रेडाडादेखि महादेव खोल्सी) ३.३ किमी, धेन्द्रेमा (सिमपानीबेसीदेखि चालिसे खोल्सी) १.३७ र लेनडाडामा (घट्टे पाखादेखि बादरे खोल्सी) १.४ किमीका तीनवटा सुरुङमार्ग निर्माण गर्न लागिएको हो। 

कूल ६.०७ किमी टनेल निर्माण गर्न लागिएको हो। त्यसैगरी ९.५ मिटर चौडार्इका ५.५ मिटर अग्ला पुल हुनेछ। सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार १.३५ को एउटा मात्रै सुरुङमार्ग भए पनि तीनवटा बनाउन लागिएको हो।

यसरी सुरुङमार्ग बनाउँदा लागत केही बढी लाग्ने भए पनि यसका दीर्घकालीन फाइदाहरु रहेको सेनाको भनार्इ छ। सुरुङमार्ग बनाउँदा करिब १० वटा पुल र आधा दर्जनभन्दा बढी कल्भर्ट निर्माण गर्नुपर्दैन। त्यसैगरी ७५ मिटरसम्मका पिल्लर भएका पुलहरुको संख्या यसले घटाउने भएकाले भूकम्पीय जोखिम घट्ने छ। साथै यसले ५ मिनेट ५१ सेकेण्ड समयको बचत गराउनेछ। यसले करिब पाँच अर्ब रुपैयाँ लागत बढाउनेछ।

पुल निर्माणका लागि टेण्डर मूल्याङ्कन भइरहेको, डिपिआर चार महिनामा तयार हुने, टनेलको डिजाइन गर्नका लागि विज्ञहरु हायर गरिएको सेनाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell