PahiloPost

May 24, 2026 | १० जेठ २०८३

भित्री सडकको बिजोग हाल : इन्द्रजात्रामा रथ तान्ने नै चिप्लने र रथको पांग्रा नै गाडिने भय

भित्री सडकको बिजोग हाल : इन्द्रजात्रामा रथ तान्ने नै चिप्लने र रथको पांग्रा नै गाडिने भय

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : य:सिं ठड्याएसँगै काठमाडौंमा आजबाट इन्द्रजात्रा सुरु भएको छ। तर, गणपतिलाल श्रेष्ठ चिन्तित छन्, जात्रामा रथ कसरी पार लगाउने भन्नेमा। 

य:सिं ठडिएसँगै आजैबाट मजिपा लाखे, सवा:भकु, देवी नाच, पुलुकिसि लगायतका नृत्यहरु पनि सुरु भइसक्यो। 

असोज ८ गते सोमबार कुमारी घरबाट कुमारी, गणेश र भैरवको रथ यात्रा गर्नुपर्ने छ। तर बाटोको हालत बिजोग छ। 

'बिहान रथ हिड्ने बाटोको निरीक्षण गर्‍यौं,' श्रेष्ठले भने, 'जात्राकै मुखमा मेलम्चीका लागि बाटो खनिएको छ। समयमा काम सकिएको छैन।'

बिहान सिमसिमे पानी परेको थियो, त्यसले खनेको माटोलाई हिलो बनाइदिएको प्रस्ट देखिन्थ्यो। अब यही हिले बाटोबाट रथयात्रा गर्नुपर्छ। 

'रथयात्रा जोखिमपूर्ण हुने देखिएको छ,' उनले थपे, 'पानी नपरे ठीकै हुन्थ्यो होला तर पानीले हिलो चिप्लो बनाएको छ। रथमा ब्रेक लगाउने हुन्न।' 

रथ तान्ने चिप्लिएर असन्तुलित होलान् भन्नेमात्र होइन, रथ नै गाडिएला भन्ने पिरलो थपिएको छ। यहाँ रथयात्रा सहज पार्न प्रहरी तथा ट्राफिक प्रहरीसहित अनुगमन गरिएको थियो। अनुगमनको निश्कर्ष हो – रथयात्रा कठिन हुँदैछ। 

टागिएका तारको उल्झन र टेको पनि उत्तिकै रहेकाले त्यसलाई कसरी व्यवस्थित बनाउने भन्ने पनि टाउको दुखाईको विषय बनेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell