घटना १: २०७४ भदौ १२ गते नर्भिक अस्पतालमा १६ महिने बालिका भिक्टोरिया आचार्यको निमोनियाको उपचारको क्रममा मृत्यु भयो। बालिकाको मृत्युपछि अस्पतालमा मृतकको आफन्त तोडफोड गरे। स्वास्थ्य मन्त्रालयले छानविन कमिटी गठन गर्यो। कमिटीले डाक्टरको लापरवाहीले मृत्यु नभएको गलत ठहर गर्यो। तर, मृतका पिता आफैँ डाक्टर भएकाले चिकित्सककै लापरवाहीले छोरीको मृत्यु भएको ठोकुवा गरे।
घटना २ : गत फागुन १२ गते नर्भिक अस्पतालले नै देब्रे खुट्टा अपरेसन गर्नुपर्ने बिरामीको दाहिने खुट्टाको अपरेसन गर्यो। चितवनकी ३८ वर्षीय बिन्दु पौडेलको गलत अपरेशन भएको थियो।
घटना ४ : गत वर्ष असोजको पहिलो साता चाबहिलको ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा बुटवलकी कमला भट्टको निधन भयो। भट्टको निधनपछि उनका आफन्तहरुले अस्पताल तोडफोड गरे। स्वास्थ्य मन्त्रालयले छानविन कमिटी गठन गर्नुअघि अस्पतालबाट आफन्तले शव लगे।
यी हालसालै सार्वजानिक भएका घटनाहरु हुन।
उपत्यकामा हरेक दिन १ सय ८५ जना बिरामी सरकारी अस्पताल पुग्दा ७५ जना निजी अस्पताल पुग्छन्। विगत केही वर्ष यताका तथ्यांक हेर्दा निजीमा भन्दा सरकारी अस्पतालमा बिरामीको चाप बड्दो छ। तर, सरकारी अस्पतालमा भन्दा कम बिरामी जाने भनिएका निजी अस्पतालहरुमा सबैभन्दा बढी 'लापरवाही' हुने देखिएको छ।
माथिका घटनाहरु पनि अब्बल भनिएका निजी अस्पतालमै घटेका हुन्।
नेपालमा पछिल्ला पाँच वर्षमा ४० वटा ठूला लापरवाहीका घटना बाहिर आए। तीमध्ये तीनवटा घटनामात्र सरकारी अस्पतालमा भएको थियो। सरकारीमध्ये वीर, गंगालाल र शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टरको लापरवाही भनिएको थियो।
पाँच वर्षयता काठमाडौं र अन्य शहरमा चिकित्सकीय त्रुटि भएका भनिएकामध्ये १५ वटा घटना मात्रै कानूनी प्रक्रियामा गएका छन्। ती बाहेक अन्य २५ घटनामा कुनै कानूनी उपचार खोजिएन। अस्पताल पैसा दिएर घटना साम्य पार्न राजी भयो। पीडितहरु पैसामा चित्त बुझाउन तयार भए।
कुन अस्पतालमा कति लापरवाही ?
गएका चार वर्षमा ओम अस्पताल चावहिलमा ५ वटा भन्दा बढी घटना चिकित्सकको लापरवाहीले भएको भन्ने आयो। त्यस्तै नर्भिक अस्पतालको अवस्था पनि ओम अस्पतालको भन्दा कम रहेन। माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा २ जना बिरामीको ज्यान जाँदा डाक्टरकै लापरवाही भनियो। त्यस्तै वयोधा, मनमोहन, मिडाट र केएमसी अस्पताल सिनामंगलमा क्रमश एक जना बिरामीको मृत्यु हुँदा दोष डाक्टरकै थाप्लोमा पर्यो।काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यलयमा भएको उजुरीको तथ्यांक हो यो। कानुनी रुपमा उजुरी नदिने लापरवाही भनिएका घटनाको सूची लामै छ। यी उजुरी भएका र नभएका दुवै घटनामा सरकारी अस्पतालको नाम अत्यन्तै कम देखिन्छ।
डाक्टरका लापरवाही भएको भन्दै अस्पताल तोडफोड गरिएका घटना हेर्दा पनि निजी र सरकारी अस्पतालमा हुने लापरवाहीको हुने भिन्नताको अन्दाज लगाउन सकिन्छ। नेपाल चिकित्सक संघको तथ्यांक हेर्दा विगतका १० वर्षमा ३ सय भन्दा बढी डाक्टर कुटिएका छन्। तीमध्ये ९० प्रतिशत निजी अस्पतालका छन्।
'निजी अस्पताल विरुद्ध परेका केही उजुरी हेरौँ '
गएका चार वर्षमा ग्राण्डी अस्पताल र बि एण्ड बि अस्पताल विरुद्ध २ जनाले डाक्टरले लापरवाही गरेको भन्दै उजुरी दिएका छन। मेडिकेयर, ईशान बाल अस्पताल र शिक्षण अस्पताल विरुद्ध पनि उजुरी परेको छ। वीर र कान्ति बाल अस्पतालको विरुद्ध पनि एक/एक उजुरी परेको छ।
चार वर्षयता राजधानीका अस्पतालमा भएका ११ वटा घटना अहिले क्षतिपूर्ति समितिमा विचाराधीन छन्। तीमध्ये ९ घटनामा रु. २० करोड ५० लाख ६४ हजार ६५८ क्षतिपूर्ति दाबी गरिएको छ। अस्पताल विरुद्ध क्षतिपूर्ति दाबी गर्दै परेका उजुरीमध्ये चार वर्षयता जिल्ला प्रशासन कार्यालय काठमाडौंले एउटा मात्रै टुंग्याएको छ। सिभिल अस्पताल मीनभवन विरुद्ध परेको विवादमा रु.३० लाख माग गरिएकोमा पीडितलाई रु.२० लाख ३६ हजार क्षतिपूर्ति भराउने निर्णय भएको थियो।
यी त लापरवाही दावी गर्दै क्षतिपूर्ती दावी गरेका घटनाहरु भए। लापरवाही भनिएर कानुनी प्रकियामा नगएका घटनामा पीडितले कति पाए त क्षतिपूर्ती?
यसको यकिन तथ्याङ्क कसैसँग पनि छैन। र, जसले तिर्छ वा लिन्छ उसले पनि गोप्य नै राख्छ।
लापरवाही, तोडफोड, उजुरी र पैसाको मोलमोलाई! निजी अस्पतालमा फस्टाउदै गएको विकृति हो। यस्ता विकृतिबाट सरकारी अस्पताल तुलनात्मक हिसाबले टाढै देखिन्छ।
'किन त?'
नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ निजी अस्पतालमा चिकित्सकको लापरवाही बढेको कुरामा सहमत छैनन्। विभिन्न गिरोहको टार्गेट निजी अस्पतालमा परेकाले लापरवाही बढेको देखिएको उनको दावी छ।उनी तीनवटा प्रष्टिकरण दिन्छन्।
पहिलो– बिरामी कालगतिले मरे पनि बिरामीका आफन्तले क्षतिपूर्ती पाउने आसयले निजी अस्पताल तोडफोड गर्छन्। त्यो सुविधा सरकारी अस्पतालमा हुन्न। तोडफोड भएपछि घटना मिडियामा आउने भएकाले निजी अस्पतालमा लापरवाही बढी देखिन्छ।
दोस्रो— अस्पतालले दिने सेवाको कारण सरकारी भन्दा निजीमा बढी लापरवाही भएको देखिएको सुनाउँछन्। भन्छन्, निजी अस्पताल सरकारी भन्दा धेरै भएकाले पनि यस्तो घटनाहरु बढी भएको देखिएको हो।
उनी तेस्रो र महत्वपुर्ण कारण संगठित गिरोहलाई मान्छन्। अस्पतालमा मोलमोलाई गर्ने गिरोह सक्रिय भएका कारण पनि यस्तो घटना बढी देखिएको हो। उनले भने, 'भएको केही हुन्न तोडफोड हुन्छ। एकैछिनमा अस्पतालमा दर्जनौ भन्दा बढी मानिस आउँछन्। त्यति धेरै मृतकका आफन्त अस्पतालमा कहाँबाट आइपुग्छन?'
उनी पछिल्ला समय यस्तै गिरोहको कारण अस्पतालमा तोडफोड र डाक्टर कुटिएको बताउँछन्। गिरोहकै कारण डाक्टरले लापरवाही गरेर बिरामी मार्ने गलत सन्देश फैलिएको दावी गर्छन्। भन्छन्, ' यदि गिरोह सक्रिय नहुने भए किन अधिकांश घटना कानूनी प्रकियामा नगई सहमतीमा कसरी टुंगिन्छ?'