
लिभरपुलले प्रिमियर लिगमा लगातार छैटौँ जित हात पारेको छ। २०१८-१९ को सिजनमा शतप्रतिशत जित निकालिरहेको लिभरपुलले साउथह्याम्टनलाई ३-० ले हरायो।
घरेलु मैदान एनफिल्डमा जोएल मतिप र मोहम्मद सलाहले एक-एक गोल गरे भने साउथह्याम्पटनका वेस्ले होएटले एक आत्मघाती गोल उपहार दिए।
छैटौँ जितपछि १८ अंक जोडेको लिभरपुल अंकतालिकामा शीर्ष स्थानमा आसिन छ।
यसैगरी साविक विजेता म्यानचेष्टर सिटीले कार्डिफ सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो।
पहिलो हाफमा तीन गोलको अग्रता बनाएको सिटीका लागि वैकल्पिक खेलाडी रियाद महारेजले दोस्रो हाफमा दुई गोल गरे। पहिलो हाफमा सर्जियो अगुएरो, बर्नानर्डो शिल्भा र एकाए गुन्डागोनले एक-एक गोल गरे।
जितपछि ६ खेलबाट १६ अंकसहित सिटी दोस्रो स्थानमा छ।
उता सिटीको छिमेकी म्यानचेष्टर युनाइटेड भने एक गोलको अग्रता लिएर पनि वल्भरह्याम्पटनसँग १-१ को बराबरीमा रोकियो।
फ्रेडले गोल गर्दै युनाइटेडलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा जाओ मुटिन्होले गोल गर्दै खेल बराबरी गरेका थिए।
बराबरीपछि युनाइटेडका १० अंक जोड्दै पाँचौ स्थानमा छ। शनिबारै भएको अन्य खेलमा बर्नलीले बर्नमाउथलाई ४-० ले तथा लेस्टर सिटीले हडर्शफिल्डलाई ३-१ ले हरायो।