
कावासोतीः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा आज ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लु १ ख ६७५४ नं को ट्रकमा पश्चिमतर्फ जाँदै गरेको लु २ च ३९६ नं को बस ठोक्किएको हो। सामान्य घाइते आठ जना उपचारपछि घर फर्किसकेका छन्। अन्य आठ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। सुनुवल नगरपालिका–४ का २१ वर्षीया पवित्रा कुँवर र पाल्पा आलेभञ्याङ्का ३५ वर्षीय पदमबहादुर कुँवरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चक्कु प्रहारबाट महिला घाइते
नवलपरासीको कावासोती नगरपालिका–१६ हर्वासीका ३० वर्षीया बसन्ती परियार चक्कु प्रहारबाट गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई सोही ठाउँ बस्ने ३७ वर्षीय बिमल सिर्पालीले गए राति चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट उनको छाती र अनुहारमा चोट लागेको छ। घाइते परियारको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको छ। चक्कु प्रहार गर्ने सिर्पालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस