PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

वैमनस्य हटाउन लाखेको घरमा पुलुकिसि र सवःभक्कुलाई मित्रताको समयबजी 

वैमनस्य हटाउन लाखेको घरमा पुलुकिसि र सवःभक्कुलाई मित्रताको समयबजी 

पहिलोपोस्ट /पहिलोपोस्ट


  • सहयोग रञ्जित -

काठमाडौं : येँया अर्थात् इन्द्रजात्राका क्रममा बुधबार मजिपातस्थित लाखेननीमा रहेको लाखेघरका तर्फबाट पुलुकिसि र सव: भक्कुलाई बोलाएर समयबजी चढाई पूजा गरियो। यसक्रममा लाखेननी चोकमा लाखे, सव:भक्कु र पुलुकिसिको नाच प्रदर्शन पनि भयो। 

मित्रताको प्रतिकका रुपमा इन्द्रजात्रामा लाखे, पुलुकिसि र सव:भक्कुले एक अर्कालाई आफ्नो क्षेत्रमा बोलाएर समयबजी खुवाउने प्रचलन रहेको छ।  

पहिला लाखे, पुलुकिसि र सव: भक्कु समूहबीच मतभेद थियो। यी नाचहरु एकअर्काको टोलमा देखाइँदैन थियो। रथयात्राका क्रममा समेत यी नाचहरु एकअर्का बिना प्रदर्शन गरिन्थ्यो। नाचका क्रममा सँगै आउने मान्छेहरुबीच सधैंजसो झगडा हुने गर्थ्यो।

जात्राका क्रममा परिस्थिति धेरै नै असामान्य भएपछि करिब दुई दशकअघि लाखे, पुलुकिसि र सव:भक्कु बीच मैत्रीपूजा गरी एकआपसबीच मतभेद अन्त्य गर्ने पहल भयो। लाखे, पुलुकिसि र सव:भक्कु समूहबीच एकअर्कालाई भोज बोलाउने र समयबजी खुवाउने प्रचलन सुरु भयो। त्यहाँदेखि लाखे, पुलुकिसि र सव:भक्कु भेट्दा प्रसन्नताका साथ एक अर्को सम्मान गर्दै नाच्ने गरेको लाखे खल:का जयदास रंजितले बताए।

आजै लाखे, पुलुकिसि र सव:भक्कुलाई यंगाल, झोछें लगायतका क्षेत्रमा बोलार्इ समयबजी चढाइएको थियो। 

काठमाडौँको महत्त्वपूर्ण चाडमध्ये एक इन्द्रजात्राको समापन असोज १२ गते शुक्रबार हुँदैछ। त्यसदिन नानिचा:या अर्थात् बीचको टोलमा रथयात्रा गरिनेछ। राणा शासनकालमा यो प्रचलन सुरु भएको हो।

जंगबहादुर राणाकी एक प्रेमिका किलागलमा बस्ने भएकोले उनको टोल हुँदै रथयात्रा चलाउन निर्देशन दिएपछि यसअघि दुई दिनमात्र रहेको रथयात्रामा एक दिन थप गरी नानिचा याः सुरु भएको हो। यो दिन  कुमारी घरबाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि वसन्तपुर पुगेर रथ यात्राको समापन हुनेछ। यो दिन महिलाले रथ तान्ने प्रचलन भने गणतन्त्र आएपछि सुरु भएको हो। 

रथयात्रा सकिएपछि राष्ट्रप्रमुख कुमारी घरमा गई टीका लगाउने चलन छ।

त्यसैदिन नालाबाट ल्याई हनुमानढोकामा ठड्याइएको य:सिं ढालिन्छ र टेकु दोभानमा लगेर विसर्जन गरेसँगै इन्द्रजात्रा विधिवत् रुपमा सकिन्छ।
 



ट्रेन्डिङ पोस्ट

Ncell