PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

ला लिगा : बार्सिलोना र रियल मड्रिड पराजित



पहिलोपोस्ट

ला लिगा : बार्सिलोना र रियल मड्रिड पराजित

स्पानिस जायन्टद्वय बार्सिलोना र रियल मड्रिड ला लिगामा एकै दिन पराजित भएका छन्। अंक तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोना लेगानेससँग तथा दोस्रो स्थानमा रहेको रियल सेभियासँग पराजित भएको हो। यस सिजन दुवैको यो पहिलो हार समेत हो।

एक गोलको अग्रता लिएर पनि कायम राख्न नसक्दा बार्सिलोना लेगानेससँग २-१ ले पराजित भयो। खेलको १२औँ मिनेटमै फिलिप काउटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा बार्सिलोना १-० ले नै अगाडि थियो।

तर दोस्रो हाफमा लेगानेसले कमब्याक गर्दै घरेलु मैदानमा दुई गोल गर्‍यो। लेगानेसलाई सिजनको पहिलो जित दिलाउन नविल एल जारले ५२औँ तथा ओस्कारले ५३औँ मिनेटमा गोल गरे।

यस्तै सेभियाले रियल मड्रिडलाई ३-० ले हरायो। सेभियाको लागि घरेलु मैदानमा आन्द्रे शिल्भाले १७औँ र २१औँ मिनेटमा गोल गरे भने विसम वेन यडरले ३९औँ मिनेटमा तेस्रो गोल गरे।

हारपछि पनि बार्सिलोना पहिलो र रियल दोस्रो स्थानमा यथावत छ। समान ६ खेलबाट दुवैको १३/१३ अंक छ। रियलको पोष्टमा ३ गोल ठोकेको सेभिया ६ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell