काठमाडौं: प्रतिनिधि सभाको चालु अधिवेशनको अन्तिम बैठकमा दलका नेताहरू बोल्ने प्रचलन छ। अधिवेशनको सुरुदेखि अन्तिमसम्मको कामकारबाहीको समीक्षा दलका नेताहरूले गर्दै मन्तव्य राख्छन्।
चालु अघिवेशनको अन्तिम दिन आज संसदको सबभन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि माधव नेपालले मन्तव्य राखे।
ओलीको अनुपस्थितिको फाइदा उठाउँदै माधव नेपालले आफ्नै पार्टी नेतृत्वको सरकारको चर्को आलोचना गरे। सरकारले गरेको कामको प्रत्याभूति जनताले गर्न नपाएको भन्दै नेपालले आलोचना गरे।
माधव नेपालले आफ्नै सरकारको आलोना गरेर गएपछि प्रमुख प्रतिपक्षी दलका उप नेता विजयकुमार गच्छदारले नेपाललाई समर्थन गरे। सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको र प्रभावकारी काम गर्न नसकेको भन्दै माधव नेपालको स्वरमा गच्छदारले समर्थन जनाए। र, गच्छदारले भने,‘सरकारबारे सबै कुरा पूर्व प्रधानममन्त्री (माधव नेपाल) जीलले भनेर जानु भयो। अब हामी के भनौं?’
संसदको तेस्रो ठुलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले पनि बोल्ने क्रममा माधव नेपालको भनाइलाई समर्थन गरे। सरकारको कामकारबाही प्रभावकारी नभएको र जनताको अपक्षे बमोजिम अगाडि बढ्न नसकेको भन्दै नेपालको भनाइलाई महतोले हाँस्दै समर्थन गरे।
सरकारले अहिलेसम्मको कामको समीक्षा गरोस् : माधव नेपाल
संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै नेकपाका नेता माधव नेपालले भने,‘मान्छेले काम हेर्न चाहन्छन्, कामको परिणाम हेर्न चाहन्छन्। यो सरकारले राम्रो काम गरेको भए यो कानले सुन्ने थिएन, जुन जोगी आए पनि कान चिरेको।’
सरकारले अहिलेको काम कारबाहीको समीक्षा गर्नु पर्ने बताउँदै नेपालले गृह प्रशासन निरीह भएको बताए। बलात्कार, हत्याको घटना बढ्दै गएको भन्दै सरकारले रोक्न नसकेको भन्दै आलोचना गरेका थिए।
‘मैले एउटा भिडियो देखे, खुलेआम देश टुक्राउने कुरा हुँदैछ। देश टुक्राउनेलाई जोगाइँदै छ,’ नेपालले भने।
नेपाली महिलालाई विदेशी सेनामा पठाउन नहुने बताउँदै नेता नेपालले भने,‘अहिले विदेशी सेनामा नेपाली महिला पठाउने कुरा हुँदैछ। भोलि भारतीय सेनामा पर्सि अरुदेशको सेनामा माग गरिएला। यसले हाम्रो देशको शिर निहुरिनेछ। यसलाई तत्काल रोक्नु पर्छ।’
दारी खौरे जसरी रुख नखौरीन आग्रह गर्दै नेता नेपालले आवश्यक जति मात्र रुख कटानी गरी निजगढ विमानस्थल बनाउनु पर्ने बताए। राजदूत नियुक्ति र संवैधानिक नियुक्तहरू तत्कालै गरिनु पर्ने धारणा नेपालले राखे।
सत्ता पक्षबाटै सरकारको आलोचना पहिले देखेको थिएन : गच्छदार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका उपनेता विजय गच्छदारले सरकारको यस्तो निरिहना अहिलेसम्म नदेखेको बताएका छन्।संसदमा बोल्दै नेता गच्छदारले भने,‘सत्ता पक्षबाटै सरकारको आलोचना र सरकारको यस किसिमको निरिहना पहिले देखेको थिएन। यो सरकारको सत्ता पक्षबाटै विरोध आएको छ।’
‘सरकार शान्ति सुरक्षा कायम गर्न असफल भयो।’ गच्छदारले भने,‘झन् प्रधानमन्त्रीजीले त आफ्ना संसदहरुलाई आरिंगल जस्तो आक्रमण गर्न उचाल्नु भयो। उहाँले मुठभेड गराउन खोज्नु भयो।’
केन्द्र सरकारले सङ्घीयता कमजोर गर्न खोजेको चर्चा गर्दै गच्छदारले भने,‘हामीसँगको कयौँ बैठकमा ओली जीले सङ्घीयता आफ्नो एजेन्डा नरहेको बताउनु हुन्थ्यो। त्यही भएर त उहाँले सङ्घीयता समाप्त पार्ने षड्यन्त्र गर्नु भएको होइन।’ प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबिच सम्बन्ध खराब रहेको चर्चासमेत गच्छदारले गरे।
५ वर्षमा ५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने सरकारको भनाइलाई चुनौती दिँदै गच्छदारले ५ वर्षभित्र ५ हजार मेगावाट बिजुली उत्पादन गर्न नसक्ने बताए।
कुन खुसी मनले पर्व त्योहार मनाउने? : राजेन्द्र महतो
सरकारको काम कारबाहीबाट जनता खुसी नभएको बताउँदै राजपाका नेता राजेन्द्र महतोले भने,‘कुन खुसी मनले पर्व त्योहार मनाउने? निर्मला पन्तको हत्यारा पता लाग्न सकेको छैन। अपराधीलाई कसले जोगायो?’‘कालो झन्डा देखाएको राम मनोहर यादवलाई पक्राउ गर्ने अनि हिरासतमा कुटेर हत्या गर्ने?’ महतोले प्रश्न गरे,‘जनताले जिताएको रेशम चौधरीलाई यो अधिवेशनमा संसदमा उपस्थित गराउन सकिएन। जनताले जितायो तर सरकारले प्रमाण पत्र दिएन। यो सभामुखको पनि कमजोरी हो। सभामुखले पनि संसदमा उपस्थिति गराउन सकेन।’
टीकापुर आन्दोलन राजनीतिक घटना भएको बताउँदै महतोले भने,‘अहिलेसम्म रेशम चौधरीलाई दोषी प्रमाणित गरिएको छैन। माओवादी आन्दोलनको दश वर्षमा हजारौँ सुरक्षाकर्मी र जनता मारिए खोइ त कसैलाई कारबाही? तर रेशम चौधरी अपराधी नभए पनि सजाइ किन?’
निजगढमा जंगल विनाश गरेर विमान स्थल बनाउनुभन्दा सागरनाथ वन परियोजनामा बनाउनु उपयुक्त हुने सुझाव महतोले दिए।
संविधान संशोधनका लागि बारम्बार भनिए पनि सरकारले कानमा तेल हालेर बसेको बताउँदै महतोले भने,‘ अव धैर्यको बाँध टुट्न लागेको छ। धैर्य टुटे पछि धेरै कुरा टुट्न सक्छ।’
पहाडमा जसरी सबैको सम्पर्क भाषा नेपाली भएको, त्यसै गरी मधेशमा सबैको सम्पर्क भाषा हिन्दी रहेको जिकिर महताले गरे।
भौगोलिक अखण्डताको पक्षमा छौं : रामसहाय प्रसाद यादव
सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता रामसहाय प्रसाद यादवले आफ्नो पार्टी विखण्डनको पक्षमा नरहेको बताएका छन्। ‘भौगोलिक विखण्डन हाम्रो एजेन्डा होइन।’ यादवले भने,‘त्यसको पक्षमा हामी छौंनौं।’यादवले ओली सरकारको बचाउँदै सरकारद्वारा भएका कामहरूको चर्चा गरेका थिए।
यसै गरी संविधान संशोधनको विषय ओझेलमा परेको भन्दै यादवले भने,‘यो अधिवेशनमा संविधान संशोधन हुन सकेन। अबको अधिवेशनबाट संविधान संशोधन हुन्छ भनेर आशा गरेको छु।’
सङ्घीयता मधेश आन्दोलनको उपज भएकोले यसलाई कसैले पनि समाप्त पार्न नसक्ने जिकिर यादवले गरे।