
धनकुटाः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने बताएका छन्। विहीबार यहाँ आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले राजधानी तोक्न तथा नामाङ्कन गर्न ठीक नहुने भन्दै केही ढिला भए पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्य र प्रदेशका जनताको भावनालाई सम्बोधन हुने गरी नाम तथा राजधानी तोकिन्छ बताए।
सरकारको उद्देश्य प्रदेश नं १ लाई सबल र समृद्ध बनाउने भएकाले दुई तिहाइको बलबाट टुङ्गो लगाउने कसरतमा आफू नलागेको बताउँदै उनले चालू प्रदेशसभाबाट नै सहमतिमा नामाङ्कन र राजधानी तोकिने बताए।
प्रदेशको राजधानी कहाँ हुने र नामाङ्कन के हुने भन्ने कुराले प्रदेशको समुन्नतिमा खासै अर्थ नराख्ने भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकार जिम्मेवार भएर सबै क्षेत्रको विकासमा लाग्ने बताए। मुख्यमन्त्री राईले सडक चौडा बनाउने, स्मार्ट सिटीहरु स्थापना गर्ने, औद्योगिक, पर्यटन र कृषि क्षेत्रहरु स्थापना गरी प्रदेशका जनतालाई समृद्ध बनाउने अभियानलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढ्ने बताए। रासस