- राजु आचार्य -
'बर्बाद भयो ! केही पनि पर्दैन कि क्या हो !' यो कार्यक्रमको सुरुवाती समयदेखि लागिपरेका अनुसन्धान टोलीका सदस्य तथा अनुसन्धान अधिकृत जीवन राईले चिन्ता प्रकट गरिरहेका थिए l
अनुसन्धान समूह स्वचालित क्यामरामा के के पर्यो भनेर हेर्दै एक ठाउँबाट अर्को ठाउँ सर्दै थिए l पुस महिनाको ६ गते थियो l समुन्द्र सतहबाट २३७५ मिटर को उचाइ l बिहानको समय l मौसम चिसो थियो l स्वचालित क्यामराको मेमोरी अर्को क्यामरामा राखेर हेर्न थालियो l यस्तो बेला सुनसानै हुने गर्छl तर सबैको मनले भने 'केही त नयाँ परे हुन्थ्यो' भनेर कामना गरिरहन्छन् l सबै टोली एकै चोटी उफ्रिए, 'सुनौलो बिरालो ! सुनौलो बिरालो !!'
खुसीले सीमा नाघ्यो l महिनौँको दु:ख छिनभरमा बिर्सिए सबैले l
'अनुसन्धान गर्दाको खुसी नै यही हो l वर्षौँदेखि नभेटिएका वा नदेखिएका वन्यजन्तु जब भेटिन्छ, त्यो खुसी अमूल्य हुन्छ' अनुसन्धान अधिकृत कौशल यादवले भने l अब भने जीवन राई पनि खुसी देखिए l
यो प्रजातिको प्रष्ट फोटो करिब १८७ वर्षपछि खिचिएको थियो l तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसको राजधानी भनेर समेत चिनिन्छ l यसै क्षेत्रको सङ्खुवासभा जिल्लामा यो फोटो खिचिएको थियो l नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले सञ्चालन गरेको महिना दिन लामो जैविक विविधता सर्वेक्षणको क्रममा सो बिरालोसहित अन्य वन्यजन्तुहरू पनि परेका थिए l
'सुनौलो बिरालो पर्यो भन्ने बित्तिकै कति खेर फोटो हेरौँ जस्तो भएको थियो l हेर्न पाइयो l अब यसको संरक्षणमा सबै सरोकारवालाहरू लाग्नु पर्दछ' नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका तत्कालीन कार्यक्रम व्यवस्थापक कमल थापाले संरक्षणमा जोड दिँदै भनेl
यसअघि पनि यो बिरालो सोही जिल्लाको मकालु वरुण राष्ट्रिय निकुन्जमा ९ मे, २००९ का दिन क्यामरा ट्रयापमा परेको थियो l उक्त समयमा ढाड र पुछारको आधारमा सो प्रजाति सुनौलो बिरालो भनेर वैज्ञानिकहरूले भने पनि केहीले भने सो तथ्यलाई अविश्वास समेत गरेका थिए l सो समय तीन महिनासम्म क्यामरा ट्रयापमा सहभागी टोली नेता यादव घिमिरेले भने ' हामी त त्यतिखेर पनि विश्वस्त थियौँ l केहीलाई शङ्का लागेको थियो l यस पटक त्यो शङ्का पनि मेटियो l'
सन् २००९ मा सङ्खुवासभा जिल्लामा स्वचालित क्यामरामा परेको सुनौलो बिरालोको तस्बिर जुन कालो रङ्गको (मेलानिस्टिक) थियो र फोटो प्रस्ट थिएन l यसको पहिचान गर्दा केहीले सुनौलो बिरालो होइन पनि भनेका थिए l
यो प्रजाति सन् १८३१ मा ब्राइन होगसनले नेपालमा पहिलो पल्ट अभिलेख गरेका थिए, तर कुन स्थानबाट भन्ने बारेमा उल्लेख गरिएको थिएन l १८७ वर्षसम्म कतै फेला नपरेको (२००९ को अभिलेख बाहेक) यो प्रजाति स्वचालित क्यामराको प्रयोगले मात्र अभिलेख भएको हो l
हालसम्म नेपालमा यो प्रजाति सङ्खुवासभा जिल्लाको दुई स्थानबाट मात्र अभिलेख गरिएको छ l साथै पूर्वी नेपालका केही जिल्लाहरूमा हालसालै स्वचालित क्यामरामा परेको अपुष्ट खबर आएका छन् l
यो प्रजातिको बारेमा नेपालमा अध्ययन भएको छैन l तर बाहिर गरिएको अध्ययन अनुसार यिनले सा-साना स्तनधारी, चराहरू तथा सरीसृपहरु खाने गर्दछन् l यिनीहरू समुन्द्र सतह देखि ४ हजार मिटरसम्मको उचाइमा अभिलेख गरिएको छ l वन विनाश र चोरी सिकारी यिनको लागि चुनौति मानिएको छ l विश्व संरक्षण सङ्घले यिनलाई संकटापन्न नजिक मानेको छ भने नेपालमा यिनको अवस्थाबारे अझै जानकारीहरू उपलब्ध छैनन् l नेपालमा पाइने आठ प्रजातिका साना बिरालाहरूमध्ये यो पनि एक हो l