
काठमाडौं: गत साउन १५ गते सांसद निरुदेवी पालमाथि के भएको थियो? घटनाको रहस्योद्घाटन हुन सकेको छैन। सांसद पालको भाषामा भन्ने हो भने दुई व्यक्तिले उनलाई ज्यान मार्ने धम्की दिएका थिए।
'भोलिको बैठकमा गए ‘तेरो बाउ खड्गे’ले पनि जोगाउन सक्दैन,' संसदीय सुनावाइ समितिमा भोलिपल्ट यसैगरी पालले घटनाक्रम सुनाएकी थिइन्। सुनुवाइ प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीमाथि चलिरहेको थियो।
त्यो घटनाले सनसनी फैलायो। सांसदहरु असुरक्षित छन् भने अरुको अवस्था के होला भन्ने पनि भयो।
उनी हालै संसदको विषयगत समितिको सभापति बनिसकिन्। तर, उनीसँगै जोडिएको सुरक्षाको त्यो महत्वपूर्ण विषय सेलाउँदै गएको छ। त्यसो त सांसद पालले घटनाबारे प्रहरीलाई उजुरी समेत् दिइनन्।
एक सांसदमाथि ज्यानको धम्की सामान्य कुरा हुने नै भएन। प्रहरीले धम्की दिने व्यक्तिको खोजी गर्यो। एसपीको नेतृत्वमा तीन सदस्य छानबिन समिति पनि बनायो। तर, दुई महिना हुन लाग्दा पनि प्रहरीले घटना के भएको थियो भन्ने सार्वजनिक गर्न सकेको छैन।
सबैभन्दा बढी सुरक्षा निकाय खटिने राजधानी नै असुरक्षित छ भने बाँकी देशको हालत के होला? यस्तो विषयमा गुपचुप रहनुले शंकाका घेरालाई थप बलियो बनायो। अनि, सबैभन्दा टड्कारो प्रश्न त सांसद पालले प्रहरीलाई पत्याइनन्। त्यसपछिका घटना लुकाउन खोज्नु कति ठीक हो? कहीँ कतै प्रहरीमा उजुरी नै छैन भने यसलाई घटना भएको भनेर कसरी पत्याउनु?
मोटरसाइकलमा आएका दुई युवा को थिए?
घटना नयाँ बानेश्वरको हो। पालको डेरा नजिकै एउटा टेलर छ। प्रहरीको अनुसन्धानमा एक प्रत्यक्षदर्शीले दिएको बयान अनुसार टेलर अगाडि सधैँ दुई वटा मोटरसाइकल देखिन्थे। घटना भएको दिन भने दुईवटा होइन चार वटा मोटरसाइकल रहेको ती प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो। सांसद् पालले बताए झैँ घटना भएको दिन मोटरसाइकलमा आएका युवाले सांसद् पाललाई भेटेका थिए।'उनीहरू बीच कुराकानी पनि भएको देखियो। तर, कुराकानी कुनै अपरिचित झैँ थिएन भन्ने प्रत्यक्षदर्शीले जनाएका छन्,'एक प्रहरी अधिकृतले सुनाए।
प्रहरी स्रोतका अनुसार दुई युवा र सांसद पालबीच कुराकानी भएको देखिए पनि त्यहाँ असामान्य केही देखिएन्। उनीहरू सामान्य तरिकाले नै मोटरसाइकलमा फर्किए। कुनै हतास वा भागदौड थिएन। उनीहरुले आरामले मोटरसाइकलमा स्टार्ट गरे अनि हिँडे। 'उनीहरू को थिए? सांसदसँग उनीहरुको के कुरा भयो? धम्क्याएर वा अरू नै गफ भयो खुलेको छैन,' ती प्रहरी अधिकृतले सुनाए।
घटना भए पनि बाहिर आएजस्तो नभएको प्रहरीको दाबी छ। प्रहरी भन्छ, 'घटनामा नै शंका देखिएको छ। बाहिर जसरी आयो त्यस्तो भएको देखिँदैन। बाँकी अनुसन्धानमा खुल्ला।'
समितिका संयोजक एसपीको सरुवा
महानगरीय प्रहरी परिसर काठमाडौँको सांसद पालको घटना अनुसन्धान गर्ने एसपीको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको थियो। समितिमा एसपी रामदत्त जोशी, महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी रहेका छन्।समिति गठन गर्ने परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले सरुवा भएको एक महिना भइसकेको छ। त्यस्तै समितिका संयोजक एसपी रामदत्त जोशीको पनि आइतबार सरुवा भएको छ। एसपी जोशी प्रहरी महानिरीक्षकको सचिवालय पुगेका छन्। अब समितिले सांसद पालको अनुसन्धान कसरी गर्छ त?
परिसरका एसएसपी वसन्त पन्त समितिका बाँकी सदस्यले अनुसन्धान जारी राख्ने बताए। एसएसपी लामाले भने, 'जहाँसम्म मलाई थाहा छ अनुसन्धान अन्तिम चरणमा पुगेको होला। अब बाँकी सदस्यले अनुसन्धान गर्ने छन्।'