
काठमाडौं : यो साता प्रदर्शनमा तीन नेपाली फिल्म छन्। 'कथा काठमाडौं', 'अनुराग' र 'छिरिङ्ग' प्रदर्शनमा आएका फिल्महरु हुन्।
फिल्म 'कथा काठमाडौं'लाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन्। फिल्ममा प्रियांका कार्की र प्रमोद अग्रहरी, आयुषमान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतको अभिनय छ। आहाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ। फिल्ममा गायिका ईन्दिरा पनि विशेष भूमिकामा देखिंदैछिन्। फिल्ममा लुजा सिंहको छायाँकन र मित्र गुरुङको सम्पादन रहेको छ।
त्यस्तै प्रदर्शनमा आएको अर्को फिल्म हो 'अनुराग'। सत्यराज चौलागाईं निर्देशित फिल्ममा संचाकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतमको मुख्य अभिनय छ। फिल्ममार्फत एलिजा र कलाकार समुन्द्र पण्डितले डेब्यू गरेका छन्। सत्यराजका लागि पनि डेब्यू निर्देशकिय फिल्म हो।
एरिका फिल्मसको ब्यानरमा बनेको यस फिल्मलाई संचारकर्मी धमलाले निर्माण गरेका हुन्। पत्नीलाई हिरोइन बनाउन धमला निर्माता बनेका कुरा चर्चामा छन्।
त्यस्तै यो शुक्रवार प्रदर्शनमा अर्को फिल्म छ 'छिरिङ्ग'। फिल्मलाई गायक यशकुमारले निर्देशन गरेका हुन्। फिल्ममा निमा रुम्बा र यशकुमार लगायतको अभिनय छ।
अब 'कथा काठमाडौं', 'अनुराग' र 'छिरिङ'बीच प्रतिस्पर्धा पक्का छ। एकसाथ प्रदर्शनमा आएका यी फिल्महरुले दर्शकको साथ कत्तिको पाउँला त्यो पछि नै थाह हुनेछ।
त्यस्तै बलिउड फिल्म 'सुई धागा' पनि यो साता प्रदर्शनमा आएको छ। कमेडी विधामा बनेको यस फिल्मलाई शरत कटारियाले निर्देशन गरेका हुन्। फिल्ममा वरुण धवन र अनुष्का शर्माको मुख्य अभिनय छ।