PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

ओलीविरुद्ध नेपाल खेमाको विरोध सिरिज् : गोप्य बैठकपछि खुल्ला चियापान



बीपी साह

ओलीविरुद्ध नेपाल खेमाको विरोध सिरिज् : गोप्य बैठकपछि खुल्ला चियापान

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्को रुपमा सतहमा देखिन थालिएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ नेता माधव नेपाल खुलेरै उत्रेका छन्।

तीन पटक आफू निकट नेताहरुको गोप्य भेला गरेका नेता नेपालले आज खुल्ला रुपमा चियापान गर्दैछन्।

नयाँ बानेश्वरस्थित नेपाल निकट व्यवसायीको होटल अर्याल इन्टरनेसनलमा यसअघि नेपाल समूहले दुई पटक गोप्य भेला गरेको थियो। आफ्नो समूहका शीर्ष नेताहरुलाई बोलाएर नेपाल समूहले ओली खेमा विरुद्धको रणनीति तय गरेका थिए।

त्यसपछि ललितपुरको तुलसिलाल प्रतिष्स्ठानमा पनि नेपाल समूहले गोप्य बैठक गरेको थियो। यी तीनवटै बैठकमा रणनीति तय भएपछि माधव नेपाल समूह अध्यक्ष केपी ओलीविरुद्ध अगाडि बढेका हुन्। नेकपा स्रोतका अनुसार उक्त बैठकहरुमा सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल, योगेश भट्टराई, वेदुराम भुसाललगायतका नेताहरु सहभागी थिए।

पछिल्लो समय भीम रावल पनि माधव नेपाल समूहमै फर्केका छन्।

संसदमा नेपाल समूहले ओली सरकारको विरोध गर्दै आएपनि विहीबार नेपालले स्वयम् सरकारको आलोचना गरेका थिए। प्रदेश समिति गठनका विषयमा ओलीले एकलौटी गरेपछि नेपाल समूहले चर्को विरोध गरेको हो।

आज नेपाल समूहले स्थायी समिति सदस्यहरुको भेला बोलाएको छ। भेला बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा डाकेको छ।

नेपालको निजी सचिवालयले दिएको जानकारी अनुसार चियापान तथा शुभकामना कार्यक्रम अनौपचारिक हुनेछ। उक्त कार्यक्रममा सञ्चारमाध्यमलाई निम्तो दिइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell