PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

गृहमन्त्रीसँग नेकपाकै नेतृहरुकाे गुनासाेः महिलामाथि हुने अपराध नियन्त्रण नहुँदा लज्जित भइसक्याैँ



पहिलोपोस्ट

गृहमन्त्रीसँग नेकपाकै नेतृहरुकाे गुनासाेः महिलामाथि हुने अपराध नियन्त्रण नहुँदा लज्जित भइसक्याैँ

काठमाडाैँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दबाब दिएका छन्।

ने क पाका महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन्। पीडित पक्षलाई समेत लिएर शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।

त्यसक्रममा महिला नेतृहरुले पार्टी नेतासमेत रहेका गृहमन्त्री थापालाई सरकारले महिलामाथि हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफूहरु आफैं लज्जित हुने अवस्था आएको गुनासो पनि गरेका थिए।

बढ्दो महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउनु परेको ने क पाकी नेतृ तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । उनले पीडितलाई न्याय दिन र पीडकलाई कडा कानुनी कारबाही गर्न सरकारलाई गम्भीर बन्न सचेत गराइन्।

यता, गृहमन्त्री थापाले पनि महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागि परेको दाबी गरेका थिए। उनले बढ्दो महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानवीन गरी दोषीलाई कारबाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन पनि महिला नेतृहरुलाई दिए।

मुलुकमा महिला र बालिकामाथि हत्या, बलात्कारलगायतका घटना बढदै गएपछि सत्तारुढ दलकै नेताहरुले त्यसलाई नियन्त्रण गर्न सरकारलाई दबाब दिन सुरु गरेका छन्। उनीहरुले सो घटनाका सम्बन्धमा गृहमन्त्री थापा गम्भीर नभएको आरोप पनि लगाउँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell