- सहयोग रञ्जित -
काठमाडौँमा एक साता मनाइने येँयाः अर्थात् इन्द्रजात्राका क्रममा तीन दिन रथयात्रा हुन्छ। यी दिनहरुमा सहरका भिन्दाभिन्दै भागमा कुमारीको रथयात्रा हुन्छ। धेरैले कुमारीको रथभन्दा अगाडि गुडाइने रथमा रहेका उस्तै शृङ्गार, उस्तै शैलीमा रहेकालाई नै कुमारी ठान्छन्, फोटो खिच्छन् र फेसबुकमा लेख्छन्- कुमारीको दर्शन गरियो।
इन्द्रजात्राको दिन गणेशको रथयात्रा
विश्वमै एक मात्र जीवित देवीका रुपमा पुजिँदै आएकी छिन् कुमारी। तर धेरै मानिसलाई नेपालमा दुई जीवित देवताहरु छन् भन्ने बारे थाहै छैन। इन्दजात्राका क्रममा पहिलो र दोस्रो रथमा हुनेहरु कुमारी नभएर गणेश र भैरव हुन्। अवकाश नपाएसम्म उनीहरु पनि कुमारी झैँ देवताको भेषमा हुन्छन्, नियममा बस्छन्। फरक यति हो कि कुमारी स्थायी रुपमा कुमारी घरमा बस्छिन्, खास समयमा मात्र बाहिर निस्किन्छिन। तर गणेश र भैरवको भने स्थायी वासस्थान छैन र उनीहरुलाई सार्वजनिक रुपमा हिँड्न पनि छुट छ।
*****
व्यस्त न्यूरोड सडक।
त्यहीँ रहेको एक घरको पाँच तल्ला माथिबाट तासले बनेको विशेष रातो पोशाक लगाएको र कपाल बाँधेका एक बालक झ्यालबाट बाहिर पाको क्षेत्रको अस्तव्यस्तता नियालिरहेका देखिन्छन्। धेरै मानिसको नजर ती बालकमा गएर अडिन्छ। तर कमैले मात्र थाहा पाउँछन् कि ती बालक हुन् जीवित देवता श्री गणेशका रुपमा पूजिँदै आएका १३ वर्षे समवेग शाक्य।
समवेग शाक्य जीवित देवता गणेशका रुपमा
समवेग ५ वर्षको छँदा नै उनका बुबा विश्वप्रकाश शाक्यले उनलाई सोधे- गणेश बन्ने हो? समवेगले इच्छा देखाए। त्यसबेला उनी केजीमा पढ्दै थिए। त्यसपछि उनी ‘देवता’ भए। श्री गणेशका रुपमा स्थापित भए।
हाल उनी गणबहालस्थित 'ग्रिनपिस कोएड' मा कक्षा ८ मा अध्ययनरत छन्। कुमारी जस्तो उनलाई एकै घरमा बस्नुपर्ने बाध्यता छैन। उनी खुला रुपमा अरु केटाकेटी जस्तै विद्यालय जान्छन्। तर केही प्रतिबन्ध भने छ।
सामान्य विद्यार्थीले लगाउने 'स्कूल युनिफर्म' उनी लगाउँदैनन्। 'भान्ता लँ' नामको धेरै लामो लुगा लगाउँछन् उनी। अरु बच्चाहरुलाई जस्तो स्वतन्त्रता पनि त छैन उनलाई। घरबाहिर खेल्न वा रमाइलो गर्न पाउँदैनन्। देवताका रुपमा कडा नियमका बीच बस्नुपर्ने हुन्छ।
गणेशलाई रथयात्राका लागि लगिँदै।
कुमारीको जस्तो गणेशको स्थायी ठेगाना नभएकाले गणेश भएदेखि समवेग न्यूरोडमा रहेको मामाघरमा बस्दै आएका छन्।
विश्वप्रकाश भन्छन्, 'मेरो आफ्नो घर छैन। बहालमा बस्दै आएको थिएँ। बहालमा बस्दा सबै आफू अनुकुल हुँदैन। द्य भाजु (गणेश) लाई छ्यासमिस (जस्तो पायो त्यस्तो) चल्दैन। त्यसले गणेश बनेदेखि न्यूरोडस्थित मामाघरमा राख्नु हाम्रो बाध्यता हो।'
स्थायी बासको व्यवस्था भए धेरै कुराको समाधान हुने उनी बताउँछन्। समवेगको रेखदेख मामाघर कै आफन्तहरुले गर्ने गर्छन्। उनकी आमा सानुमैयाँ शाक्य दिन बिराएर छोरालाई भेट्न आउने बताउँछन्।
****
ओमबहालस्थित मञ्जुश्री नक महाविहारको चोक
जीवित देवता श्री भैरवको रथयात्रामा सहभागी हुन आएका मानिसहरु खाना खान व्यस्त थिए। भैरवका बुवा उत्तम शाक्य भने भैरवलाई वसन्तपुर लैजानका लागि खट तयार गर्दै थिए।
रुजन शाक्य जीवित देवता भैरवका रुपमा
त्यहीँको ४ तल्ले साँघुरो घरमा भने जीवित देवता भैरवका रुपमा रहेका १३ वर्षे रुजन शाक्य इन्द्रजात्राका लागि विशेष वस्त्र लगाई तयार हुँदै थिए। बाँकी समय 'भान्ता लँ' लगाउने रूजनलाई त्यसदिन तासको कपडाले बनेको विशेष लुगा, गरगहना र कपाल सजाउने कार्यका लागि केही महिला व्यस्त थिए।
भाडाको घरमा बस्ने ‘देवता’
३ वर्षको उमेरमा भैरवका बनेका रुजन ताहाचलस्थित जनज्योति विद्यालयमा कक्षा ८ मा पढ्छन्। पढाइमा राम्रै रुचि भएका रुजन जात्राका समयमा विदामा छन्। उनलाई घरमा दर्शन गर्न आउनेको घुँइचो लाग्छ।
जीवित देवता भैरव बस्ने चार तल्ले साँघुरो घर (बीचको)
यट्खामा कूलघर भए पनि दाजुभाइ छुट्टिएपछि उत्तम कलंकी पुगे। तर छोरा भैरव बनेपछि भने उनी ओमबहालमा भाडाको घरमा बस्न बाध्य भए। उनी भन्छन् 'खोला पारी द्य भाजु (भैरव) लाई राख्नु हुँदैन। जुठो चल्दैन, तल माथि हुनुहुँदैन। छुट्टै राख्नुभन्दा केही उपाय छैन। आवासका लागि भनेर सरकारले महिनाको एक हजार दिन्छ। यो त उनीहरुले सोच्नुपर्ने कुरा हो कि हामीले कसरी यो संस्कृति धानिरहेका छौँ?'
जीवित देवी र जीवित देवतामा भेदभाव
गणेश र भैरव पनि छन् वा कहाँ बस्छन भन्ने बारे धेरैलाई थाहै हुँदैन। स्थायी ठेगाना नहुँदा इच्छा भएको व्यक्तिले पनि पूजा गर्न सक्ने अवस्था छैन।
कुमारी बनेदेखि अवकाश पाउने बेलासम्म कुमारीको सबै खर्च राज्यले बेहोर्छ। कुमारी घर मै पढाइको व्यवस्था राज्यले मिलाइ दिएको छ। कुमारीको रेखदेख गर्नका लागि छुट्टै चिताइदारको व्यवस्था गरिएको छ। तर गणेश र भैरवको हकमा त्यस्तो छैन।
गणेशका पिता विश्वप्रकाश शाक्य
विश्वप्रकाश भन्छन्, 'जात्राको अवधिमा करिब दुई लाख जति खर्च हुन्छ। खट बोक्ने, बाजा बजाउने, आफन्त, गुठीका मानिसलाई खाना, खाजाको व्यवस्था गर्नुपर्ने हुन्छ। दर्शनका लागि मानिसहरु आउँछन्। सरकारले दिएको रकमले पुग्दैन। कहिले सम्म धान्ने? जसोतसो चलाइरहेका छौं।'
२०६५ सालमा डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा इन्द्रजात्रा व्यवस्थापनका लागि दिइँदै आएको रकममा कटौती गर्ने निर्णयपश्चात् इतिहासमा नै पहिलो पटक इन्द्रजात्रा केही दिन रोकिन पुग्यो। पछि जात्रा व्यवस्थापनका लागि रकम छुटाउने निर्णय भएदेखि संस्कृति मन्त्रालयबाट वार्षिक २१ हजार रुपैयाँ दिन सुरु भएको विश्वप्रकाश बताए। यस्तै गुठी संस्थानबाट ज्यूनारका लागि भनेर ७ मुरी धान र जात्रा खर्चका लागि भनेर वार्षिक १२ हजार रुपैयाँ दिइन्छ। वार्षिक रुपमा जात्राका लागि प्राप्त हुने २३ हजार अपुग रहेको उनी बताउँछन्। केही समयदेखि भने महानगरपालिकाले पनि हेरचाहका लागि भनेर महिनाको १५ हजार दिने गरेकोले केही राहत भने उनले महसुस गरेका छन्। तर 'यो रकम कुमारीलाई दिने भन्दा निकै कम रहेको' भन्दै गर्दा विश्वप्रकाशको अनुहारमा असन्तुष्टि प्रष्टै झल्किन्थ्यो।
कुमारीलाई शिक्षाका लागि वार्षिक ७० हजार दिइँदै आएकोमा गणेश र भैरवलाई १२ हजार मात्र दिने गरिएको बताउँदै उनले भने, 'हामीलाई पैसा चाहिँदैन। विद्यालयको लाग्ने खर्च सरकारले बेहोरिदिए उनीहरुको भविष्य पनि राम्रो हुन्थ्यो।'
गणेश र भैरव पनि देवता भएको र उनीहरुको संरक्षण र सम्वर्द्धनका लागि केही वर्ष पहिले 'वर्तमान तथा भुपु श्री गणेश, श्री भैरव संरक्षण समिति' गठन गरिएको विश्वप्रकाशले बताए। उनीहरुको मुख्य माग भनेकै स्थायी वासस्थानको व्यवस्था नै हो।
शाक्य भन्छन्, 'वसन्तपुरस्थित संस्कृत विश्वविद्यालय भवन भूकम्पले क्षतिग्रस्त छ। त्यसको पुननिर्माण गरेर स्थायी वासस्थान बनाउन सकिन्छ। त्यसो भएको खण्डमा गणेश र भैरव पनि छन् भनेर मानिसहरुले थाहा पाउँथे, पूजा गर्न पाउँथे। पूजाबाट आउने सहायताबाट पनि हामीलाई धेरै सहयोग हुन्थ्यो।'
यो माग आफ्नो छोराका लागि मात्र नभई अब केही वर्ष पछि बन्ने गणेश वा भैरवका लागि पनि भएको उनले स्पष्ट पारे।
गणतन्त्र कालमा राष्ट्रपतिले गरेको भेदभाव
जब जात्रा सकिन्छ तब भैरव र गणेश जनस्तरबाटै नै केही हदसम्म तिरस्कृत हुन पुगेको झैँ लाग्छ उत्तमलाई।
उनी भन्छन् 'गणेश र भैरवलाई त देवता नै होइन जस्तो गर्छन्। गणेश र भैरव पनि जीवित देवता हुन् भन्ने बारेमा आममानिसलाई समेत मतलब छैन।'
भैरवका पिता उत्तम शाक्य।
विश्वप्रकाशले झैं कुमारीलाई जस्तै छुट्टै आवासको व्यवस्था भए सजिलो हुने उनी बताउँछन्। त्यसका लागि राष्ट्रपतिकहाँ समेत कुरा राखेको बताउँछन् उनी। तर हालसम्म केही भएन। भन्छन्, ‘जसोतसो संस्कृतिलाई जीवित राख्नु बाहेक अरु उपाय देख्दिनँ।‘
सरकारले गणेशलाई जस्तै भैरवलाई समेत पढाईका लागि महिनाको एक हजार रुपैयाँ दिन्छ। बाँकी खर्च सबै आफैले बेहोर्नुपर्छ। धेरै असहजता बीच पनि आफ्ना छोराले संस्कृति जीवित बनाइरहेकोमा भने उनी खुसी छन्।
जीवित देवी कुमारीका रुपमा मतिना शाक्यले अवकाश पाएसँगै गणतन्त्र आएपश्चात् पहिलो पटक तृष्णा शाक्य नयाँ कुमारी बनिन्।
राजतन्त्रमा कुमारी परिवर्तन हुँदा दरबारबाट गणेश र भैरवलाई समेत पूजा दिइन्थ्यो। तर गत वर्ष भने शीतल निवासबाट पूजा नदिएकोमा उनको धेरै गुनासो छ। उनी भन्छन्, 'नियम भनेको नियम हो। शासनसत्ता परिवर्तन भएपनि पहिलादेखि चलिआएको परम्परालाई बिगार्नु भएन।'
रथयात्राका लागि तयार गणेश।
देवताको कान निमोठ्दा..
भैरवलाई पनि बाँकी बालबालिका जस्तै धेरै स्वतन्त्रता छैन। बाहिर आफन्त कहाँ जाँदा पनि पहिला उनलाई चोखो खुवाएर बाँकीलाई खुवाउनुपर्छ। भगवान भएसँगै अरुले उनलाई गर्नुपर्ने व्यवहारमा पनि केही नियमहरु हुन्छ। विद्यालय जाँदा होस् वा अरु कतै उनी त जीवित देवता हुन्। उनको सम्मान त गर्नैपर्ने हुन्छ।
तर वर्तमान समाजले त्यो चलनलाई निरन्तरता दिन नसकेको बारे उत्तम भन्छन् 'विद्यालयमा एक जना शिक्षकले द्य: भाजुको कान निमोठेछ। मैले गएर त्यहाँको प्राध्यापकसँग कुरा गरे। त्यसो त गर्नु भएन भनेर शिक्षकहरुलाई सम्झाउन भने। पछि शिक्षकलाई नै नराम्रो होला भनेर सचेत गराए। पछि कान निमोठ्ने शिक्षक नै कान दुखेर थला परेछ।'
भैरवको रथयात्रा।
'मिडियाले पनि गणेश – भैरवबारे बुझेन'
विश्वप्रकाश भन्छन्, 'वास्तवमा मान्छेलाई गणेश र भैरव पनि छन् भनेर थाहै छैन। अस्ति खटबाट द्य: भाजुलाई परिक्रमा गराउँदा एक जनाले कुमारी आयो भनेको सुनेँ। आफ्नो नाम भन्दा अरुको नामले बोलाउँदा सबैलाई रिस उठ्छ नि। गणेशलाई कुमारी भन्दा पहिचान नै मेटियो। शुभ कार्य गर्दा पहिले गणेशकै पुजा गर्नुपर्ने हाम्रो परम्परा छ। यसबारे सबै सचेत हुनुपर्छ।'
गणेश र भैरवका सम्बन्धमा सञ्चार माध्यममा पनि भ्रम रहेकोमा उनी अलि क्रुद्ध देखिए।
इन्द्रजात्राको दिन गणेशको रथयात्रा।
'मिडियाले पनि बुझेर कुरा लेख्नुपर्ने हो। अस्ति एउटा राष्ट्रिय दैनिकमा इन्द्रजात्रामा जीवित देवी कुमारीको रथ यात्रा गरिन्छ अनि दुई बालकलाई गणेश र भैरव बनाएर रथयात्रा गरिन्छ भनेर लेखेको पढेँ। दुई चार दिनका लागि मात्र गणेश, भैरव बनाउने हो र ? ८ वर्ष भयो छोरो जीवित देवता गणेश भएको। कुमारीले पालना गर्नुपर्ने सबै नियम गणेश र भैरवले पनि पालना गर्नैपर्छ। फरक यति हो कुमारी बाहिर सार्वजनिक रुपमा हिँडडुल गर्न पाउँदैनन्। गणेश र भैरवले पाउँछन्। तर बाहिर गए पनि फर्केर घरै आउनुपर्ने हुन्छ।'
विद्यालयबाट कहिलेकाहीँ विद्यार्थीलाई घुमाउन लैजाने गरिन्छ। केही समयअघि विद्यार्थीलाई स्वीमिङ लगिएछ। सबै बच्चाहरुले स्वीमिङ गरे तर खेल्ने रहर हुँदाहुँदै पनि गणेशको रुपमा समवेगले त्यो मौका पाएनन्। पछि घर आएपछि उनले आफ्नो परिवारमा सो कुरा सुनाएछन्।
विश्वप्रकाश भन्छन्, 'देवता बन्ने बच्चाले पनि परम्परा कायम गर्न त्याग गरेको हुन्छ। उसले ८-१० वर्ष भगवानका रुपमा राज्य कै प्रतिनिधित्व गरेको हुन्छ।' वर्तमानमा आफ्नो छोराले गरेको त्याग नदेखेकोमा भने विश्वप्रकाश असन्तुष्ट छन्।
तर पहिला कसैले नचिने पनि अहिले गणेशको बुवा भनेर बोलाउँदा आफूलाई गर्व लाग्ने बताए उनले।
गणेश रथयात्राका लागि तयार हुँदै।
स्थायी वासस्थान नै समाधान
गणेश र भैरव इन्द्रजात्रा अवधिभर देखिएपनि बाँकी समय उनीहरु ओझेलमा पर्छन्। देशविदेशमा नै गणेश र भैरव पनि जीवित देवका रुपमा छन् भनेर चिनाउनका लागि निश्चित स्थानमा गणेश भैरवको वासस्थान बनाउनै पर्नेमा सरोकारवालाहरु जोड दिएको धेरै पहिलेदेखि नै हो।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यका अनुसार यो माग विसं २०३५ सालदेखि कै हो। त्यसका लागि वसन्तपुर डबलीमा रहेको संस्कृत विश्वविद्यालयको भवन सबैभन्दा उपयुक्त रहेको भन्दै सिफारिस नगरिएको पनि होइन। संस्कृति मन्त्रालयमा कुरा नपुगेको पनि होइन। तर सबै प्रक्रियाहरु कुरामा मात्रै सीमित बनेकोले यो सम्भव हुन नसकेको गौतमले बताए।
'वसन्तपुरमै श्री गणेश र श्री भैरवको वासस्थान भए त सबैलाई राम्रो हो नि। एकै स्थानबाट तीनै जीवित देवीदेवताको दर्शन गर्न सकिन्छ। जात्रा चलाउन पनि सजिलो हुन्छ।'
त्यसका लागि सम्बन्धित सबै पक्षले सरकारलाई दबाब दिनै पर्ने गौतमको मत छ।
भैरव आफ्ना मातापिताका साथ।
कसरी छानिन्छन् गणेश र भैरव ?
इन्द्रजात्रा लिच्छवी कालदेखिनै मनाइँदै आएको भए पनि कुमारी, गणेश र भैरवको रथयात्रा भने कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएका हुन्। त्यतिबेला गणेश र भैरवको रथलाई अगाडि पारेर राजा जयप्रकाश स्वयं कुमारीको रथमा बसी यात्रा चलाउने गर्थे।
प्रायः कुमारी छनौट गर्दा अपनाइने विधिहरु नै गणेश र भैरव छनौट गर्नका लागि अपनाइन्छ। तर कुमारीले प्रायः १२ वर्ष हुँदा अवकाश पाएता पनि गणेश र भैरवको भने सीमा हुँदैन। सामान्यतया ३ देखि ५ वर्षको उमेरका शाक्य परिवारका छोरा १५-१६ वर्ष उमेरसम्म जीवित देवता गणेश र भैरवका रुपमा रहन्छन्। अवकाश लिने समय नजिकिँदै गर्दा काठमाडौंका शाक्य समुदाय बीच आफ्नो छोरालाई गणेश र भैरव बनाउन इच्छुक परिवारलाई आवेदन गर्न लगाइन्छ।
बालकहरुको प्राप्त चिना तलेजुको पुजारी कहाँ पठाइन्छ। पुजारीले बालकको चिना हेरी राज्यको हितमा रहेको नरहेको बुझी उपयुक्त उम्मेदवारको चिना राजपुरोहित कहाँ पठाई सिफारिस गरिन्छ। एक जना मात्र सिफारिस भएमा ऊ स्वतः पदका लागि छनौट हुन्छ। तर दुई चार जना भए आपसी सल्लाहमा छनौट गरिन्छ।
तर गणेश भैरव बन्नका लागि केही कडा नियमहरु पनि छन्।
पहिलो, गणेश भैरव बन्ने बालकको बुबा आमा काठमाडौं कै शाक्य हुनुपर्छ। काठमाडौं बाहिरका शाक्यसँग बिहे भई जन्मेको छोरा भए ऊ गणेश वा भैरव बन्न पाउँदैन।
दोस्रो, बालकमा कुनै रोग, चोट वा खोट हुन हुँदैन। भएमा पनि उनीहरु योग्य मानिँदैनन्।
समवेग र रुजन शाक्य दुवै १३ वर्षका भए। उनीहरु अझै दुई तीन वर्ष जीवित देवता गणेश र भैरवका रुपमा रहनेछन्।