
काठमाडौः पोखराका विभिन्न स्थानमा चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
कैलाली धनगढी उपमहानगरपालिका घर भएका १८ वर्षीय कमल ठगुन्नालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए। ठगुन्नाले पोखराका विभिन्न स्थानहरूमा रहेका सहकारी र मनी चेन्जरहरुमा केही समयदेखि चोरी गरेको खुलेको हो।
प्रहरी नियन्त्रणमा रहेका ठगुन्नाले भदौ ४ गते कैलालीमा रहेको होटेल एभरेष्टको वेटरको जागिर छोडेपछि चोरीको धन्दा गर्दै आएको डिएसपी गुरुङले बताए। उनले गत भदौ १६ गते पोखराको लेकसाइडमा रहेको एभरेष्ट मनी चेन्जरबाट ९६ हजार रुपैयाँ, अमरसिंहचोकमा रहेको भिजन बचत तथा ऋण सहकारी सस्थाबाट ९ लाख ६७ हजार रुपैया चोरी गरेको अनुसन्धानमा देखिएको हो। प्रहरीले ठगुन्नाको साथबाट ५ लाख ३८ हजार रुपैयाँ समेत बरामद गरेको छ।
उनी चोरी गर्ने उद्देश्यले गत भदौ महिनाको १४/१५ गते पोखरा आएको र लेकसाइडस्थित टेम्पल लेक होटेलको कोठा नम्बर ४ मा बसेका थिए।